काठमाडौँ, १८ माघ । आमनिर्वाचनलाई लक्षित गर्दै नेपालमा नक्कली नेपाली तथा भारतीय रुपैयाँ भित्र्याउने तयारीमा रहेको अन्तर्राष्ट्रिय गिरोह भारतमा पक्राउ परेको छ।
नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत रक्सौल आसपास सक्रिय उक्त गिरोहलाई भारतको पूर्वी चम्पारण प्रहरी र स्पेसल टास्क फोर्स (STF) को संयुक्त टोलीले नियन्त्रणमा लिएको हो। टोलीले भारतको सीतामढी जिल्लाको मेजरगंज क्षेत्रमा सञ्चालनमा रहेको नक्कली नोट छाप्ने अत्याधुनिक कारखाना फेला पारेर ध्वस्त पारेको छ।
छापामारीका क्रममा करिब २५ लाख रुपैयाँ बराबरका नक्कली नेपाली नोट, १८ हजार ५ सय नक्कली भारतीय रुपैयाँ, तथा नोट छाप्न प्रयोग गरिने हाइटेक मेसिन, कागज, रसायन र अन्य सामग्री बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ।
घटनामा संलग्न १० जना अभियुक्त पक्राउ परेका छन्, जसमा ३ जना नेपाली नागरिक रहेको पुष्टि भएको छ। साथै, गिरोहले प्रयोग गरेका तीन वटा मोटरसाइकल र एउटा कार समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार बरामद गरिएको नक्कली नेपाली मुद्रा फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी नेपालमा प्रयोग गर्ने योजना बनाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सीमावर्ती क्षेत्र प्रयोग गरी नक्कली नोट नेपाल भित्र्याउने तयारी भइरहेको थियो।
सुरक्षा निकायले गिरोहका अन्य सदस्य तथा मुख्य योजनाकार (मास्टरमाइन्ड) को खोजी तीव्र बनाइएको जनाएको छ। नक्कली नोटको कारोबारले राष्ट्रिय सुरक्षा र आर्थिक स्थायित्वमा गम्भीर असर पार्ने भएकाले यस्ता गतिविधिमा संलग्न कसैलाई पनि नछोडिने प्रहरीको स्पष्ट चेतावनी छ।



