शनिवार, साउन १२, २०८१
NayaPaper | अनलाइन पत्रिका

उपचार नपाएर कान्ति बाल अस्पतालमा पाँच वर्षीया बालिकाको मृत्यु

बुधवार, भदौ २०, २०८०

काठमाडौं । उपचार नपाएर कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमा एक बालिकाको मृत्यु भएको छ ।दुई घन्टा कुर्दा पनि उपचार नपाएपछि उनको मृत्यु भएको हो ।

काठमाडौंको बाफल बस्ने मकवानपुर थाहा नगरपालिका– १० की पाँच वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो आएपछि आमा रिता गोपाली र हजुरबा कृष्णबहादुर गोपालीले सोमबार साँझ ५:०० बजे कान्तिको इमर्जेन्सी कक्षमा पुर्‍याएका थिए । इमर्जेन्सीमा बिरामीको भिड थियो । कृष्णबहादुरले नातिनीको अवस्था जटिल बन्दै गएकाले तत्काल उपचारको व्यवस्था मिलाइदिन इमर्जेन्सी कक्षमा खटिने सेक्युरिटी गार्डलाई बिन्ती गरे । त्यहाँ डाक्टरबाहेक व्यवस्थापन मिलाउने सेक्युरिटी नै थिए ।

तर, सेक्युरिटीले टिकट काटेर पालोमा बस्न आदेश दिए । टिकट लिने प्रक्रिया पनि उस्तै लम्बेतान, कृष्णबहादुरले काउन्टर नम्बर १ मा गएर टिकट लिँदा ५:४२ बजिसकेको थियो । पालो ६३ नम्बरमा पर्‍यो, जब कि त्यतिवेलासम्म डाक्टरले १५ नम्बरसम्मका बिरामीलाई मात्रै हेरेका थिए । रेजिशालाई भने ज्वरोले गालेर लल्याकलुलुक बनाउँदै थियो । कृष्णबहादुरले नातिनीको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै पालो अगाडि सारिदिन सेक्युरिटी गार्डसामु हात जोडे ।अस्पतालको सुरक्षामा खटिएका प्रहरीले पनि पालो अगाडि सारिदिन आग्रह गरेका थिए । तर, बिरामीको ज्यान तलमाथि होला भन्नेमा होइन, कसैको पालो तलमाथि होला कि भन्नेमा निर्मम बन्यो अस्पताल प्रशासन, किनभने त्यो कान्ति बाल अस्पतालको इमर्जेन्सीमा स्थापित कठोर नियम हो । जतिसुकै गाह्रो भए पनि पालोमै आउन भनेपछि कृष्णबहादुर र रिताले रेजिशाको छटपटीमा रुनबाहेक केही गर्न सकेनन् । दुई घन्टासम्म कुर्दा पनि इमर्जेन्सीको उपचार नपाएपछि साँझै ७:१० बजे रेजिशाको मृत्यु भयो ।

अस्पतालको गैरजिम्मेवार व्यवहारका कारण रेजिशाको ज्यान जानु मृतकको सूचीमा अर्को एक नाम थपिनु मात्रै हो । तर, अकालमा ज्यान गुमाएका परिवारका लागि अपूरणीय क्षति हो । आमा रिताको कोख रित्तिएको छ । छोरीलाई राम्रो शिक्षा दिएर उनको सुन्दर भविष्य कोर्न एक वर्षदेखि परदेश (पोर्चुगल)मा पसिना बगाउँदै गरेका बुबा जितबहादुरको सपनाले हार खाएको छ ।
तर, अस्पताल प्रशासन भने उल्टै शोकसन्तप्त परिवारमाथि दोष देखाएर मृत्युलाई सामान्यीकरण गर्न उद्यत् छ ।

सम्बन्धित खबर