कास्की, २१ माघ । दक्षिण एसियाली खेलकुद महासङ्घ (साफ) यु १९ महिला फुटबलमा नेपालले आज बुधबार बङ्गालादेशसँग खेल्दैछ । पोखरा रङ्गशालामा पहिलो पटक भएको फुटबलमा नेपाल र बङ्गगालादेशको खेल दिउँसो ३ बजे सुरु हुने छ ।
आज नै भारत र भुटानबिच पनि खेल हुँदैछ । भारत र भुटानको खेल मध्यान्ह १२ बजे सुरु हुने छ । ४ टोली सहभागी खेलमा बङ्गालादेश २ खेलमा जित निकाल्दै ६ अङ्कका साथ शीर्ष स्थानमा छ । बङ्गालादेशले भुटानलाई १२–० र भातलाई २–० गोलले पराजित गरेको हो ।
नेपालले एकमा हार र एकमा जितसहित ३ अङ्क, भारत पनि एकमा जित र एकमा हारसहित ३ अङ्क छ । नेपाल भारतसँग १–० ले पराजित भएको हो भने भुटानलाई २–१ ले पराजित गरेको हो । भारत बङ्गालादेशसँग २–० ले पराजित भएको थियो । २ खेलमा हारेको भुटान अङ्करहित छ । नेपाल फाइनलमा जानका लागि आजको खेल जित्नै पर्ने दबाब छ ।
आफ्ना दुई खेलमा जित निकालेको बलियो टिम बङ्गलादेशलाई हराउन नेपाल कडा परिश्रम गर्नुपर्ने छ । कमजोर मानिएको भुटान २ खेलमा पराजित छ । ४ टोली सहभागी फुटलबलमा सबैले एक अर्कासँग खेल्नुपर्ने छ । साफ फुटबल माघ २४ गतेसम्म चल्ने छ । सिङ्गल राउन्ड रोबिन लिगपछि अङ्क तालिकामा शीर्ष दुई स्थानमा रहने टिमबिच फाइनल हुने प्रावधान छ ।



