झापा, २१ माघ : दमक नगरपालिका–१ बरगाछीस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
आज दिउँसो करिब ३:३० बजे दमकबाट रामचोकतर्फ जाँदै गरेको टिपर र दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक २२ वर्षीय प्रवेश राई र पछाडि सवार १९ वर्षीय जनम राई गम्भीर घाइते भएका थिए।
घाइते दुवैलाई उपचारका लागि दमक अस्पताल पुर्याइए पनि दिउँसो ३:५० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा संलग्न टिपर चालक ३२ वर्षीय हिबराज रायलाई नियन्त्रणमा लिइएको छ। टिपर र मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



