शनिवार, साउन १२, २०८१
NayaPaper | अनलाइन पत्रिका

सामाजिक सञ्जालमा पार्टीका गतिविधि पोष्ट गर्न एमाले झापा इन्चार्ज भट्टराईको निर्देशन

बुधवार, भदौ २०, २०८०

बिर्तामोड । नेकपा एमालेका पोलिट्व्युरो सदस्य तथा झापा जिल्ला इन्चार्ज विशाल भट्टराईले पार्टीका गतिविधि आक्रामक रुपमा सामाजिक सञ्जालमा पोस्ट गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनु भएको छ ।
बुधबार झापाको कमल गाउँपालिकामा गाउँस्तरीय सामाजिक सञ्जाल अभिमुखीकरण कार्यक्रममा बोल्दै एमाले पोलिट्व्युरो सदस्य भट्टराईले जनतामाझ पार्टीले गरेका काम पुर्याउन सामाजिक सञ्जाल उपयुक्त माध्यम भएको बताउनु भएको हो ।
उहाँले पार्टी स्थापना भएका बेला, त्यसपछि संघर्षका चरण भन्दा अहिले समय र परिस्थिति बदलिएकाले प्रचारको माध्यम बदलिनुपर्ने बताउनुभयो । व्यक्तिको हातमा सामाजिक सञ्जाल प्रयोग गर्न मिल्ने मोबाइल फोन हुने गरेकाले पार्टीको प्रचारका लागि त्यसलाई सदुपयोग गर्न उहाँले निर्देशन दिनुभयो ।

नेता भट्टराईले भन्नुभयो, 'पहिला हामीले कति दुःख गर्यौं भन्ने कुरा अहिलेका युवालाई थाह छैन । हामीले गरेका काम यति धेरै छन् तर हामीले आक्रामक रुपमा जनतासम्म पुर्याउन सकेनौं । अब समय बदलियो । हामीले हाम्रा सामाजिक सञ्जालमार्फत पार्टीका काम जनतामाझ पुर्याउनुपर्छ ।'

पार्टीले गरेका कामको बढाइँचढाइँ नगर्न तर सही कुरा के हो त्यो उल्लेख गर्न उहाँले बताउनुभयो । राजतन्त्र रहेका बेला राजतन्त्रविरुद्धका नारा लगाउँदा पुग्ने अवस्थाबाट अहिलेसम्म आइपुग्दा प्रविधिले धेरै फड्को मारेको नेता भट्टराईको भनाइ थियो । अरुका आलोचनाको भय नराखी पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको सामाजिक सञ्जालको प्रयोगलाई उदाहरणका रुपमा लिन उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'यस अघिका चुनावलाई हेरौं न । सामाजिक सञ्जालबाटै भोट मागेर कतिपयले जिते त । अनि हामीसंग पनि छ त सामाजिक सञ्जाल । त्यस्को प्रयोग किन नगर्ने ? पार्टीका कार्यक्रमका तस्वीर र विवरण आफ्ना सामाजिक सञ्जालका अकाउन्टमा आजैबाट पोस्ट गरौं ।'
कमल गाउँपालिकाका अगुवा नेता तथा कार्यकर्तालक्षित सामाजिक सञ्जालको प्रयोगका बारेमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।

अभिमुखीकरण कार्यक्रमको सहजीकरण नेकपा एमाले झापाका प्रचार तथा प्रकाशन विभागका सचिव प्रदीप परियार र प्रेस चौतारी झापाका सदस्य तथा अग्रज पत्रकार उमाकान्त खनालले गर्नुभएको थियो ।

सम्बन्धित खबर