शनिवार, साउन १२, २०८१
NayaPaper | अनलाइन पत्रिका

कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

शुक्रवार, भदौ २२, २०८०

काठमाण्डौ । नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।
सर्वोच्च अदालतको परमादेशअनुसार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आज शुक्रवार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्की प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बन्नुभएको हो ।यसअघि गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका उद्धव थापाले प्राप्त गरेको विश्वासको मत सर्वोच्चले अदालतले बदर गरेको थियो । संविधानको धारा १६८ को उपधारा २ बमोजम संयुक्त सरकारका मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्न नसकेको ठहर भएपछि उपधारा ३ बमोजिम कार्की मुख्यमन्त्री बन्नुभएको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आजै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । कार्कीले एमालेका तिलकुमार मेन्याङ्वोलाई ऊर्जा, पाँचकर्ण राईलाई वन, एकराज कार्कीलाई भौतिक पूर्वाधार मन्त्री र सृजना राईलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । मन्त्री र राज्यमन्त्रीले पनि आजै शपथ लिएका छन् ।मुख्यमन्त्री कार्कीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । हिजो बिहीवार सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको सरकारलाई अवैधानिक ठहर गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । कार्की दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएको हो।

सम्बन्धित खबर