पाकिस्तान, २३ माघः पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा सुरक्षा बलले आतंकवाद विरोधी अभियान सम्पन्न गरेको र यस क्रममा कम्तीमा २१६ आतंककारी मारिएको सेनाले जनाएको छ।
आतंककारीहरूले गरेका आक्रमणमा सुरक्षा बल र कानून कार्यान्वयन गर्ने निकायका २२ जना कर्मचारी र ३६ जना सर्वसाधारणको पनि मृत्यु भएको पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।
स्थानीय बासिन्दाका लागि गम्भीर खतरा उत्पन्न गर्ने आतंककारीहरूको उपस्थितिको बारेमा विश्वसनीय र प्रमाणित गुप्तचरी सूचना प्राप्त भएपछि जनवरी २९ मा यो अभियान सुरु गरिएको थियो। त्यसपछि, सुरक्षा बलले प्रतिबन्धित बलुचिस्तान लिबरेसन आर्मीद्वारा गरिएका श्रृंखलावद्ध आक्रमणहरूलाई विफल पारेको आईएसपीआरले जनाएको छ।
विज्ञप्तिका अनुसार, यसपछि विभिन्न क्षेत्रहरूमा गुप्तचरीमा आधारित अपरेसनहरूको विस्तारित अभियान चलाइएको थियो, जसको उद्देश्य निरन्तर कोम्बिङ र सेनिटाइजेसन प्रयासहरूमार्फत आतंककारीका ’स्लिपर सेल’हरूलाई ध्वस्त पार्नु थियो।
अभियानका क्रममा ठूलो परिमाणमा विदेशी हतियार, गोलाबारुद, विस्फोटक पदार्थ र अन्य उपकरणहरू पनि बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ।



