बिर्तामोड, २४ माघ : हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड सातौँ संस्करणको झापा गोल्डकपको आधिकारिक बीमा साझेदार बनेको छ।
विनोद बस्नेत स्मृति संस्करणका रूपमा आयोजना हुन लागेको प्रतियोगिताका लागि हिमालयन एभरेस्टले खेलाडी, अफिसियल तथा सचिवालय सदस्यहरूको बीमा गरेको हो।
हिमालयन एभरेस्टका क्षेत्रीय प्रमुख सुशील थापाका अनुसार प्रतियोगिता अवधिभर खेलाडी, अफिसियल र सचिवालय सदस्यहरूको दुर्घटना बीमा गरिनेछ।
उहाँका अनुसार खेलाडी र अफिसियल दुर्घटनामा घाइते भएमा एक लाख रुपैयाँसम्म उपचार खर्च र मृत्यु भएमा एक लाख रुपैयाँ उपलब्ध गराइनेछ।
त्यस्तै, सचिवालय सदस्यहरू दुर्घटनामा घाइते भएमा ५० हजार रुपैयाँसम्म उपचार खर्च र मृत्यु भएमा एक लाख रुपैयाँ प्रदान गरिनेछ।
यस वर्षको झापा गोल्डकपका लागि थापा र गोल्डकपका अध्यक्ष केदार गिरीबीच बीमा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।



