बिर्तामोड, २४ माघ : झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ मा आयोजित निःशुल्क पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी स्वास्थ्य शिविरमा ८० जना महिलाले सेवा लिएका छन्।
सालबारी महिला नौमती बाजा संस्थाले गिरीबन्धु श्रमिक टोलमा आयोजना गरेको उक्त स्वास्थ्य शिविरमा महिलाहरूले प्रत्यक्ष स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका हुन्। शिविरमा क्यान्सरसम्बन्धी प्रारम्भिक जाँच, परामर्श तथा सचेतनामूलक जानकारीसमेत प्रदान गरिएको एमाले युवा नेतृ रोजिना पाण्डेले जानकारी दिनुभयो।
महिलाहरूमा क्यान्सरसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष इन्दिरा पोखरेलले बताउनुभयो।
शिविर अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा डा. ज्योति भाजु लामा सहितको चिकित्सक टोली खटिएको थियो।



