बिर्तामोड, २६ माघ : नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभा निर्वाचनका लागि मेची संयोजक डा. डिला संग्रौलाले पार्टीको नेतृत्व र विचार बद्लिएको बताउँदै परिवर्तनको संवाहक नेपाली कांग्रेसलाई मत दिएर ठूलो पार्टी बनाउन आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेस झापाको आयोजनामा विर्तामोडमा सम्पन्न जिल्लाका पदाधिकारी, सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ/नगर सभापतिहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै सहमहामन्त्री संग्रौलाले यस्तो आग्रह गर्नुभएको हो ।
‘विशेष महाधिवेशनले गुटगत राजनीतिको अन्त्य भएको छ’–नेतृ संग्रौलाले भन्नुभयो–‘कांग्रेस एकजुट भएर निर्वाचनमा आएको छ, विचार बद्लिएको छ, नेतृत्व बद्लिएको छ । पार्टी बदलेर देश बदल्ने यात्रामा निस्किएको कांग्रेसलाई अब जनमत चाहिएको छ ।’ जेन जी मुभमेन्टले नेतृत्व परिवर्तन खोजेको र सोही अनुसार पार्टी परिवर्तित नेतृत्व लिएर आएको उहाँको भनाई थियो ।
देश संक्रमणकालीन अवस्थामा रहेको बताउँदै उहाँले हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको र अहिलेको परिवर्तित अवस्थाको नेतृत्वको अवसर पनि कांग्रेसलाई दिन मतदातासँग आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तारामान गुरुङले इतिहास, राजनीतिक संस्कार र परिवर्तनको संवाहकको रुपमा रहेको कांग्रेसको पक्षमा देशभर जनलहर देखिएको बताउनुभयो ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले कांग्रेसमा नेतृत्व परिवर्तनसँगै देशभरका १०६ वटा क्षेत्रमा नयाँ एवं युवा अनुहारलाई उम्मेद्वार बनाएको बताउँदै परिवर्तनको नेतृत्व गर्ने अवसर दिन आग्रह गर्नुभयो ।
केन्द्रीय सदस्य सुरेश सुब्बा, केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेद्वार उमा शिवाकोटी, पूर्व केन्द्रीय सदस्य एवं झापा क्षेत्र नं–२ का उम्मेद्वार सरिता प्रसाई लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति शेरबहादुर भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागीहरुको तर्फबाट प्रेम सम्बाहाम्फे, दिपक तामाङ, इन्द्र कार्की, ओम विमली, पम्फा विक, लीला मैनाली, गोकुल श्रेष्ठ, विष्णु सुब्बा, इन्द्र बुढाथोकी लगायतले आ–आफ्ना क्षेत्रको निर्वाचन परिचालनका विषयमा बताउनुभएको थियो ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागार्इंले सहजीकरण गर्नुभएको कार्यक्रममा स्वागत सहसचिव कमलप्रसाद भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौला, सुधिरकुमार शिवाकोटी, सुरेश सुब्बा, तारामान गुरुङ, उमा शिवाकोटी लगायतलाई कार्यबाहक सभापति भट्टराईले खादा लगाएर सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।



