बिर्तामोड, २६ माघ : नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं–२ का उम्मेदवार सरिता प्रसाईंले नीति निर्माण गर्ने थलो प्रतिनिधिसभामा आफूले प्रतिनिधित्व गर्न पाएमा महिला सहभागिता ५० प्रतिशत पुर्याउने प्रतिबद्धता जनाउनुभएको छ।
नेपाल महिला संघ निर्वाचन प्रचार–प्रसार समिति क्षेत्र नं–२ को आयोजनामा नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा सम्पन्न क्षेत्रस्तरीय महिला भेलालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै नेतृ प्रसाईंले आफूले संविधानसभामा प्रतिनिधित्व गर्दा राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको नीतिगत व्यवस्था पारित गरेको स्मरण गर्नुभयो।
‘अब अवसर पाए नीतिगत रूपमा नै महिला सहभागिता ५० प्रतिशत पुर्याउन पहल गर्नेछु,’ नेतृ प्रसाईंले भन्नुभयो, ‘महिलाले सहजै अधिकार प्राप्त गर्ने अवस्था छैन, नेतृत्वसँग खोसेरै लिनुपर्ने अवस्था अहिले पनि छ।’ अन्य पार्टीको तुलनामा महिला अधिकारको रक्षामा कांग्रेस अगाडि रहेको उहाँको भनाइ थियो।
अन्य जनप्रतिनिधिको तुलनामा आफ्नो क्षेत्रमा आफूले उल्लेखनीय विकास निर्माणका कार्य गरेको दाबी गर्दै उहाँले प्रत्यक्ष निर्वाचित भएमा नीति निर्माण र विकास निर्माण दुवै क्षेत्रमा काम गरेर देखाउने धारणा राख्नुभयो।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेदवार उमा शिवाकोटीले २००७ सालदेखि संविधान निर्माणसम्मका परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको बताउँदै सबै दललाई एकै ठाउँमा उभ्याउने ताकत कांग्रेसमा मात्रै रहेको बताउनुभयो।
देश संक्रमणकालीन अवस्थामा रहेको र जेनजी पुस्ताले खोजेअनुसार कांग्रेसमा युवा नेतृत्व आएको बताउँदै नेतृ शिवाकोटीले मुलुक र लोकतान्त्रिक व्यवस्थालाई बचाइराख्न कांग्रेसलाई ठूलो शक्ति बनाउन आम मतदातासँग अपिल गर्नुभयो।
अर्का समानुपातिक उम्मेदवार मनमाया विश्वकर्माले प्रत्यक्ष र समानुपातिक दुवै तर्फ रुख चिन्हमा मतदान गरी लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि कांग्रेसलाई ठूलो शक्ति बनाउन आग्रह गर्नुभयो।
नेपाल महिला संघ झापाका अध्यक्ष टिका सिटौला मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्मला गुरुङ, सिता ढकाल उप्रेती, यसोदा उप्रेतीलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो। सिता चुडाल सुवेदीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन प्रभा पौडेलले गर्नुभएको थियो।
कार्यक्रममा नेपाली कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौला, सुधिरकुमार शिवाकोटी, सुरेश सुब्बा, तारामान गुरुङ, उमा शिवाकोटीलगायतलाई स्वागत गरिएको थियो।



