बिर्तामोड, २६ माघ : झापाको बुद्धशान्ति गाउँपालिका–२ इन्द्रेणी चोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
माघ २४ गते बेलुकी बुधबारेबाट जयपुरतर्फ जाँदै गरेको प्र.१-०१-०१७ प ३५१४ नम्बरको मोटरसाइकलले बाटोमा रोकी राखिएको मे १ त ७७६७ नम्बरको ट्याक्टरको पछाडिको डालामा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक झापा जिल्ला अर्जुनधारा नगरपालिका–६ निवासी अन्दाजी ३५ वर्षीय प्रबिण आङदेम्बे टाउकोमा गम्भीर चोट लागेर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो। उपचारकै क्रममा माघ २६ गते दिउँसो करिब २:३० बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
उक्त मोटरसाइकलको पछाडि सवार पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका–७ घर भई हाल झापा बिर्तामोड नगरपालिका–१ बस्दै आएका ४८ वर्षीय हरी आङदेम्बे पनि दुर्घटनामा घाइते भएका छन्। उनी हाल बी एण्ड सी अस्पतालमै उपचाररत रहेका छन्।
दुर्घटनामा संलग्न मोटरसाइकल, ट्याक्टर तथा ट्याक्टर चालक झापा मेचीनगर नगरपालिका–२ निवासी ४० वर्षीय वीरबहादुर विश्वकर्मालाई इलाका प्रहरी कार्यालय धुलाबारी, झापाले नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



