झापा, २८ माघ : जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष चेकजाँच अभियान सञ्चालन गरेको छ।
जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय लगायत विभिन्न संघ संस्थाको सहकार्यमा काँकरभिट्टामा आज लागू पदार्थ सेवन (लापसे) चेकजाँच गरिएको हो ।
चेकजाँचमा १३ जनाले लागू पदार्थ सेवन गरेको पुष्टि भएको झापा ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो। जसमा ११ जना पुरुष र २ जना महिला छन् । करिब १ सय ५० वटा सवारी साधन जाँच गरिएको प्रहरीले जनाएको छ। शंका लागेका २९ जना चालकमा लागू पदार्थ सेवन परीक्षण गरिएको थियो ।
लागू पदार्थ सेवन गरेको पुष्टि भएका ती चालकहरूलाई अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा राखिएको छ। विशेषगरी तीनपांग्रे अटो रिक्सा तथा मोटरसाइकल चालकहरूलाई लक्षित गरी चेकजाँच गरिएको प्रहरीले जनाएको छ।
झापा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले यो कार्यक्रमले जिल्लामा सुरक्षा संवेदशिलतामा प्रहरी कसरी लागेको छ भन्ने कुरा स्पष्ट पारेको बताउनु भयो ।
यसैबीच, ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) विरुद्धको चेकजाँच पनि कडाइका साथ सञ्चालन गर्दै आएको छ। पछिल्लो समय सडक दुर्घटना बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै सचेतना र कारबाही दुवैलाई प्राथमिकता दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीले सवारी चालकहरूलाई लागू पदार्थ तथा मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गर्दै ट्राफिक नियमको पालना गर्न अनुरोध गरेको छ।



