झापा,२८ माघ : बिर्तामोड–२ मा करिब १० वर्षअघि स्थापना भएको पूर्वाञ्चल प्लाष्टिक पाईप इन्डष्ट्रिज प्रा.लि पब्लिक कम्पनीमा रूपान्तरण भएको छ। कम्पनीले सेवा विस्तार र पूँजी वृद्धि गर्ने उद्देश्यसहित सामूहिक सहभागितातर्फ अघि बढ्दै सार्वजनिक कम्पनीको रूप लिएको हो।
बजारको बढ्दो माग र उद्योगमा हासिल गरेको अनुभवलाई मध्यनजर गर्दै द्रुत गतिमा विस्तार गर्नुपर्ने आवश्यकता देखिएपछि कम्पनीलाई पब्लिकमा रूपान्तरण गरिएको व्यवस्थापन टिमले जनाएको छ। यससँगै कम्पनीको चुक्ता पुँजी हाल १३ करोड रुपैयाँ पुगेको छ भने चार जना नयाँ शेयरधनी थपिएका छन्।
कम्पनीको योजना अनुसार आर्थिक वर्ष २०८२र८३ मा नयाँ मेसिन जडान, उपकरण खरिद, जग्गा खरीद तथा चालु पुँजीमा गरी १४ करोड ४१ लाख रुपैयाँ लगानी गरिनेछ। यसबाट वार्षिक बिक्री १५ करोडबाट २५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
त्यसैगरी आर्थिक वर्ष २०८३र८४ मा थप संरचना र अत्याधुनिक उपकरणमा १२ करोड १० लाख रुपैयाँ लगानी गरिनेछ, जसले बिक्रीलाई ६० करोड रुपैयाँसम्म पुर्याउने लक्ष्य लिइएको छ।
विर्तामोडमा गुणस्तरीय पाइप उत्पादन गर्दै आएको कम्पनीले अब आईपीओमार्फत सर्वसाधारणलाई लगानीको अवसर प्रदान गर्ने योजना बनाएको जनाएको छ।
बुधवार कम्पनीद्धारा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष गोपालप्रसाद मैनाली, प्रवन्ध सञ्चालक मात्रिका ओली, सञ्चालक प्रकाश सिटौला, वित्तिय निर्देशक प्रज्वल अकिारी शर्मा, कम्पनी सचिव किशोरकुमार कुशवाह, बित्तिय व्यवस्थापक सुमन खतिवडालगायतले कम्पनीका विषयमा जानकारी गराएका थिए ।



