झापा,४ फागुन : नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट झापा क्षेत्र नं २ का उम्मेदवार धर्मशिला चापागाईले आजबाट चुनाव केन्द्रित घरदैलो अभियान शुरू गरेकीछन्।
इलाम र झापाको संगमस्थलमा रहेको सुखानीबाट उनले चुनावी अभियान शुरू गरेकी हुन् । आज बिहान सुखानीमा आयोजित एक कार्यक्रमका बीच त्यहाँ रहेका झापा विद्रोहका सहिदहरुको शालिकमा माल्यार्पण गरी घरदैलो कार्यक्रम सुरु गरिएको निर्वाचन परिचालन समिति संयोजक हरिकुमार रानाले जानकारी दिए ।
'हिजो उहाँ सहिदहरूको बलिदानका कारण आज मुलुक यहाँ छ,' चापागाईले भनिन्, 'शहीदहरूको बाँकी सपना पूरा गर्न यस क्षेत्रबाट मेरो उम्मेदवारी रहेको छ र त्यो मेरो भोलिको कार्यभार हुनेछ ।' माओवादी आन्दोलनको जगमा बनेको संविधान २०७२ ले प्रत्याभूत गरेका अधिकारहरू पूर्ण कार्यान्वयन बाँकी रहेको र त्यसको पूर्ण कार्यान्वयनका लागि फेरि आफू उम्मेदवार बन्नु परेको चापागाईले बताइन् । उनले आम मतदातालाई तारा चुनाव चिन्हमा मतदान गरी मुलुकलाई अग्रगमनतर्फ डोहोर्याउन सहयोग गर्न अपिलसमेत गरिन् । उनले सुखानीमा रहेका झापा विद्रोहका सहिदहरुको नेत्र घिमिरे, विरेन सिंह राजवंशी, नारायण श्रेष्ठ, कृष्ण कुइकेल र रामनाथ दाहालको शालिकमा माल्यार्पण गरेकी थिइन्।
चापागाईं संविधानसभा सदस्य तथा पूर्व राज्य मन्त्री हुन । उनले आईतबार पत्रकार सम्मेलन गरी २० बुँदे विस्तृत चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेकी थिइन् । सोही प्रतिबद्धता पत्र लिएर आगामी १८ गतेसम्म मतदाताको घर घरमा जाने चापागाईले बताइन् ।




