तनहुँ, ५ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिन सक्ने शक्ति भएकाले मात्र देश बदल्न सक्ने दाबी गर्नुभएको छ । सोमबार दमौलीमा नोपली कांग्रेस तनहुँद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले वर्तमान विषम परिस्थितिबाट देशलाई निकास दिने क्षमता नेपाली कांग्रेससँग मात्र रहेको बताउनुभयो ।
“जो बदलिन सक्छ उसले बदल्न सक्छ,” भन्दै शर्माले भन्नुभयो, “कांग्रेसले धेरै जित र हार दुवै भोगेको छ, तर इतिहासका कठिन मोडमा देशलाई सम्हाल्ने जिम्मेवारी पनि काँधमा बोकेको छ ।”
उहाँले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ७४–७५ जना जेनजी युवाले ज्यान गुमाएको दुःखद प्रसंग स्मरण गर्दै त्यो पीडालाई गम्भीर रूपमा आत्मसात् गर्नुपर्ने बताउनुभयो । शर्माले भन्नुभयो, “आमाको काख रित्तियो, संरचनाहरू जले, समाज भावनात्मक रूपमा विखण्डित भयो । यस्तो अवस्थामा देशलाई शान्ति, समन्वय र संविधानको मार्गमा कसले लैजान सक्छ भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ,” उहाँले भन्नुभयो । शर्माले चुनाव दलगत जित–हारको विषय मात्र नभई सङ्कटमा देशलाई संयमताका साथ समन्वय गर्न सक्ने परिपक्व शक्तिको परीक्षण हो । “मूल प्रश्न कुन दलले जित्ने भन्ने होइन, मूल प्रश्न विषम परिस्थितिमा देशलाई कसले गाँस्न सक्छ भन्ने हो,” उहाँले स्पष्ट गर्नुभयो ।
शर्माले २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०७० सालको संविधानसभा निर्वाचनसम्मका ऐतिहासिक सन्दर्भ प्रस्तुत गर्दै कांग्रेसले भिन्न शक्ति, दल र समुदायबीच समन्वय गरेर देशलाई निकास दिएको दाबी गर्नुभयो । २०६४ मा कांग्रेस दोस्रो दल बन्दा संविधान निर्माण प्रक्रिया अन्योलमा परेको र २०७० मा पहिलो दल बनेपछि दुई वर्षमै संविधान जारी भएको तथ्य जनताले स्मरण गर्नुपर्ने उहाँको भनाइ थियो ।
पार्टीभित्रको पुस्तान्तरण, आन्तरिक सुधार र नेतृत्व नवीकरणबारे चर्चा गर्दै उहाँले कांग्रेस बदलिसकेको दाबी गर्नुभयो । “अब कांग्रेस एउटै व्यक्तिको अवसरको पार्टी हुँदैन । दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने व्यवस्था, सक्ने कुरा मात्र बोल्ने र गर्ने प्रतिबद्धता हाम्रो आत्मसुधारको सङ्केत हो,” उहाँले भन्नुभयो ।
उहाँले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै नयाँ पुस्ताको नेतृत्वमार्फत देशलाई नवीन मार्गमा लैजानुपर्ने धारणा राख्नुभयो । सभामा तनहुँ क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले “पाँच पालिका, पाँच वर्ष, ५५ काम” को विकास मार्गचित्र सार्वजनिक गर्नुभयो । मादी जलाशय, विश्वविद्यालय स्थापना, धार्मिक रिङरोड, सुलभ स्वास्थ्य, गुणस्तरीय शिक्षा र डिजिटल तनहुँ निर्माणलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । उपसभापति शर्माले उक्त प्रतिबद्धता केवल घोषणापत्र नभई बदलिएको कांग्रेसको कार्ययोजना भएको उल्लेख गर्दै मतदातालाई गम्भीर र विवेकपूर्ण निर्णय लिन आग्रह गर्नुभयो । “आजको निर्णयले भोलिको नेपाल बनाउँछ,” उहाँले भन्नुभयो ।
सभामा कांग्रेसका केन्द्रीय सदस्यहरू धुव्र वाग्ले, चिनु पोख्रेल, प्रकाश पन्थ र जिल्ला सभापति जीत प्रकाश आले लगायतले बदलिएको कांग्रेस र विकासप्रेमी उम्मेदवारहरु क्षेत्र नम्बर १ का गोविन्द भट्टराई र २ का शंकर भण्डारीलाई जिताउन अपिल गर्नुभएको थियो ।




