काठमाडौँ, ८ फागुनः नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा जलाएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। उक्त घटनाले लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमा आघात पुर्याएको अनेरास्ववियुको ठहर छ।
अनेरास्ववियुका अध्यक्ष दीपक धामीले जारी गरेको विज्ञप्तिमा राजनीतिक मतभिन्नता लोकतन्त्रको स्वाभाविक विशेषता भए पनि फरक आस्था र विचारप्रति असहिष्णुता देखाउँदै अरूको आस्थामाथि आक्रमण गर्नु लोकतान्त्रिक संस्कारविपरीत भएको उल्लेख गरिएको छ।
घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न अनेरास्ववियुले सरकारसँग माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, “सरकार मौन बस्ने वा अराजकतालाई प्रश्रय दिने कार्य भएमा अनेरास्ववियु सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुनेछ।”




