काठमाडौँ, १० फागुनः निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने भएकाले अनावश्यक भ्रम र संशयमा नपर्न सबैलाई आग्रह गर्नुभएको छ ।
आइतबार गोरखापत्र संस्थानले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले निर्वाचनबारे फैलाइएका हल्ला र आशंकाको पछि नलाग्न उम्मेदवार तथा राजनीतिक दलहरूलाई सुझाव दिनुभयो। केही तत्वले निर्वाचन बिथोल्ने प्रयास गरे पनि त्यस्ता प्रयास सफल नहुने र मतदान निर्धारित मितिमै हुने उनको ठोकुवा थियो ।
आफूलाई अझै पनि केही उम्मेदवारले निर्वाचन हुने वा नहुने विषयमा संशय राख्दै फोन गर्ने गरेको उल्लेख गर्दै उहाँले अब नेपाली जनता कुनै पनि प्रायोजित हल्लाको साक्षी नबस्ने स्पष्ट पार्नुभयो। 'निर्वाचनको विकल्प निर्वाचन नै हो,' भन्दै उहाँले स्वार्थपूर्तिका लागि वातावरण बिगार्ने प्रयास सफल नहुने जिकिर गर्नुभयो । नयाँ र पुराना सबै राजनीतिक शक्तिले निर्वाचनलाई नै मार्गका रूपमा स्वीकार गरिसकेको उल्लेख गर्दै उनले धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न चेतावनी दिनुभयो ।
भण्डारीका अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। निर्वाचन बिथोल्ने वा अस्थिरता सिर्जना गर्ने गतिविधिलाई सरकारले निषेध गर्ने र आयोगले त्यस्ता गतिविधि नजिकबाट निगरानी गरिरहेको उहाँले बताउनुभयो। वातावरण निर्माणमा देखिएका कमी–कमजोरीबारे सरकारलाई सुझाव दिइरहेको जानकारी दिँदै उहाँले आयोगको अडानलाई कमजोरीका रूपमा नलिन आग्रह गर्नुभयो ।
यसैबीच, उनले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सरोकारवाला सबैलाई निर्देशन दिएका छन्। केही सञ्चारमाध्यमले आचारसंहिता विपरीत मत सर्वेक्षण गरिरहेको उल्लेख गर्दै त्यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिनुभयो। पटक–पटक आग्रह गर्दा पनि मत सर्वेक्षण जारी राखिए कारबाही गर्न आयोग बाध्य हुने उहाँको भनाइ छ।
सुशासनका लागि निर्वाचन अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले सबै पक्षलाई प्रचार–प्रसारमा केन्द्रित हुन आह्वान गर्नुभयो।




