काठमाडौँ, १० फागुनः नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गते तय गरिएको निर्वाचनप्रति आशंका बढेको बताउनुभएको छ । चुनावी अभियानका क्रममा गृहजिल्ला झापा पुगेका ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो धारणा राख्नुभएको हो ।
सरकारले देखिएका आशंकाहरू हटाउन पहल गर्नुपर्ने उहाँको भनाइ थियो । कुनै पनि बहानामा निर्वाचन रोक्न नहुने उल्लेख गर्दै उहाँले धाँधली हुन सक्ने भन्दै नागरिकस्तरमै गम्भीर चासो व्यक्त भइरहेको बताउनुभयो । त्यस्ता आशंकाको निवारण गर्ने जिम्मेवारी सरकारको भएको उहाँले बताउनुभयो ।
शान्ति(सुरक्षाप्रति पनि सर्वसाधारण ढुक्क हुन नसकेको उल्लेख गर्दै अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने सुनिश्चितता दिन सरकारलाई सुझाव दिनुभयो।
'निर्वाचनमा सहभागी भइसके पनि मेरो दलको तर्फबाट निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनका लागि एमाले सहयोग गर्न तयार छु' ओलीले भन्नुभयो । उहाँले एमाले निर्वाचनको वातावरण बिगार्ने वा बिथोल्ने गतिविधिमा सहभागी नहुने स्पष्ट पार्नुभयो।




