झापा, १५ फागुन : झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले महाकाली सन्धिका विषयमा उठिरहेका जिज्ञासाबारे स्पष्टोक्ति दिनुभएको छ । सामाजिक सञ्जाल तथा व्यक्तिगत रूपमा सोधिएका प्रश्नलाई लिएर उहाँले आफूले उक्त सन्धिमा कुनै पनि रूपमा हस्ताक्षर नगरेको दाबी गर्नुभएको हो ।
घिमिरेले आज जारी गर्नुभएको विज्ञप्तिमा महाकाली सन्धिबारे आफू स्पष्ट रहेको र उठेका प्रश्नहरूको जवाफ दिइरहेको उल्लेख गर्नुभएको छ । सन्धिलाई लिएर भ्रम फैलाउने प्रयास भएको भन्दै उहाँले घृणाको राजनीति नगरी अध्ययन र विश्लेषण गर्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको छ ।
केही दिनअघि एक व्यक्तिले भिडियो खिचेर सोही विषयमा प्रश्न गरेको प्रसंग उल्लेख गर्दै घिमिरेले उक्त गतिविधि नियोजित भएको थाहा पाएपछि आफूले जवाफ नदिएको बताउनुभयो । अहिले उक्त भिडियो अमुक दलको प्रचार सामग्रीका रूपमा प्रयोग भएको दाबी उहाँको छ ।
“कुनै पनि सन्धिमा मैले हस्ताक्षर गरेको छैन । त्यस समयमा म सांसद, मन्त्री वा राज्यको कुनै पनि जिम्मेवारीमा थिइनँ,” विज्ञप्तिमा घिमिरेले भन्नुभएको छ । आफूले लोकतान्त्रिक पार्टीभित्र भएको बहसमा व्यक्तिगत धारणा मात्रै राखेको र त्यसमा पक्ष–विपक्षमा धेरै नेताले विचार राखेको उहाँको भनाइ छ ।
पार्टीको वैकल्पिक केन्द्रीय सदस्यले छिमेकी देशसँग सन्धि गर्ने हैसियत नै नहुने भन्दै यस्तो आरोप लगाइनु दुखद भएको घिमिरेले उल्लेख गर्नुभएको छ ।
घिमिरेले आफू ५० वर्षदेखि राजनीतिमा सक्रिय रहेको बताउँदै राजनीति आफ्नो लागि सेवा भएको जिकिर गर्नुभयो । बिनाश्रमको एक रुपैयाँ पनि नलिएको र ओहोदा वा प्राप्तिका लागि राजनीति नगरेको उहाँको भनाइ छ ।
तीन वर्षअघि प्राप्त जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेको दाबी गर्दै घिमिरेले झापा क्षेत्र नं. २ का मतदातालाई विगत तथा पछिल्लो तीन वर्षको आफ्नो कामको निष्पक्ष मूल्यांकन गर्न आग्रह गर्नुभएको छ । आफूबाट कहीँ त्रुटि भेटिए विनम्रतापूर्वक स्वीकार गर्न तयार रहेको उहाँले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।



