भद्रपुर, १८ फागुन : घरदैलो अभियान अन्तिम चरणमा पुराएको नेकपा एमालेले झापा क्षेत्र नं. ३ मा मतदाताबाट प्राप्त समर्थनले आफूहरू उत्साहित भएको जनाएको छ ।
आज भद्रपुरमा प्रेस चौतारी झापाले आयोजना गरेको उम्मेदवारसँग पत्रकार कार्यक्रममा एमालेले झापा–३ का मतदाताले विगतका कमजोरी सच्याउने अवसर आएको भन्दै पार्टीको विजय सुनिश्चित हुने जनाएको छ । एमालेका उम्मेदवार हरिबहादुर राजवंशीले मतदाताको माया र विश्वासले आफू थप उत्साहित बनेको बताए । उनका अनुसार झापा–३ का मतदाताले एमालेप्रति ठूलो भरोसा व्यक्त गरेका छन् ।
राजवंशीले सो क्षेत्रका नागरिकहरूले पूर्वाधार विकासमा विभेद भएको गुनासो गरेको उल्लेख गर्दै एमालेले विकासमा कसैलाई पनि विभेद नगर्ने स्पष्ट पारे । विकासमा पछि परेको झापा–३ लाई माथि उठाउन मतदाताले एमालेमा मतदान गर्ने विश्वास व्यक्त गरे । घरदैलोका क्रममा अधिकांश मतदाताले विकास नपाएको गुनासो गरेको उनले बताए ।
उनले नेपालकै भूमिमा पुग्न समेत भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै आगामी दिनमा यस्ता समस्याको समाधान गरिने प्रतिबद्धता जनाए । झापा–३ मा व्यापक विकासको आवश्यकता औंल्याउँदै घरदैलोका क्रममा संकलित जनताका सबै समस्या सम्बोधन गर्ने उनले वाचा गरेका छन् ।
अघिल्लो निर्वाचनमा राप्रपालाई सहयोग गर्नुपरेकोप्रति हजारौं मतदाता असन्तुष्ट रहेको उल्लेख गर्दै एमालेले यसपटक आफ्नै उम्मेदवार उठाएर विगतको बाध्यता अन्त्य गरेको जनाएको छ ।
राजवंशीले भने, “हामी कसैको विरोध गर्न आएका होइनौं । जनताको माया र साथले एमाले निकै उत्साहित भएको छ ।”
पत्रकार सम्मेलनमा कृषि र पर्यटनको ठूलो सम्भावना बोकेको भए पनि क्षेत्र ओझेलमा परेको मतदाताको गुनासो एमालेले सम्बोधन गर्दै जाने बताइएको थियो ।
निर्वाचन परिचालन समितिका संयोजक बसन्त बानियाँले झापा–३ मा एमालेले १२ वर्षपछि आफ्नै उम्मेदवार पाएको बताए । वर्षौंदेखिको पीडामा रहेको क्षेत्रलाई फागुन २१ को निर्वाचनले न्याय दिने उनको भनाइ थियो ।
एमालेले पार्टीभित्रैबाट उम्मेदवार पाउनुपर्ने माग गरेपछि हरिबहादुर राजवंशीलाई टिकट दिइएको स्पष्ट पार्दै उनले यसपटक कुनै पनि दलसँग तालमेल नगरिएको बताए । एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा रहेको उनको भनाइ छ । पत्रकार सम्मेलनमा समानुपातिकतर्फका उम्मेदवार जीतु गौतम, परिचालन समितिका पदाधिकारी, सदस्य तथा पार्टीका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।



