काठमाडौं, २० फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढेको छ ।
निर्वाचनको दिन बिहीबार आ–आफ्नो गृहजिल्लामा पुगेर मतदान गर्न मतदाताले उपत्यका छोड्ने क्रम बढेको हो । चुनावका लागि उपत्यकाबाट बाहिरिने क्रम बुधबार पनि जारी रहेको ट्राफिक प्रहरी ले बताएको छ । सार्वजनिक यातायातका साधनहरू खचाखच भरिएका छन् भने निजी गाडीमार्फत जानेहरु पनि उत्तिकै रहेको छन् ।
हालसम्म ७ लाख ५० हजार भन्दा बढीले उपत्यका छाडिसकेको प्रहरीले बताएको हो । बुधबार पनि कतिपय बाहिरीने भएकाले यो संख्या थप बढ्ने अनुमान छ । बुधबार मध्यरातिदेखि भने सार्वजनिक र पासबाहेकका गाडी चल्न पाउने छैनन् ।
बिहीबार मतदान नसकिएसम्मका लागि सरकारले गाडी चलाउन रोक लगाएको छ । यातायात व्यवस्थालाई थप सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरीले जनशक्ति बढाएको जनाएको हो । यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै राजमार्गहरूमा गस्ती बढाइएको र आवश्यकता अनुसारका क्षेत्रहरूमा विशेष निगरानी गरिएको ट्राफिक प्रहरीले बताएको छ।
यातायात व्यवसायीहरुले पनि सुरक्षित र संयमित यात्रा गर्न, क्षमता भन्दा बढी यात्रु नराख्न तथा ट्राफिक नियमको पालना गर्न आग्रह गरेका हुन् ।



