झापा, २० फागुनः निर्वाचनको माहोल तातेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का क्षेत्रीय उपाध्यक्ष राजुजंग कन्दङवा झापाको बिर्तामोडबाट पक्राउ परेका छन्। चुनाव प्रचारमा संलग्न गाडीमा सवार उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो भने सुरक्षा स्रोतले ‘पैसा बाँड्दै गरेको’ सूचनाका आधारमा कारबाही गरिएको दाबी गरेको छ।
बिर्तामोड नगरपालिका–६ निवासी कन्दङवालाई आज बिहान करिब ११:२० बजे बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालय अगाडि रहेको फलफूल लाइन क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
राप्रपाका जिल्ला अध्यक्ष केशव ओझाका अनुसार कन्दङवा चुनाव प्रचारका लागि प्रयोग भइरहेको गाडीमा आएका थिए। उक्त गाडीमा चुनावी प्रचार सामग्री भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको उहॉंले बताउनुभयो। पक्राउपछि कन्दङवालाई निर्वाचन अधिकृतको कार्यालयमा बुझाइएको र आवश्यक समन्वयका लागि पार्टीका नेताहरू त्यहाँ पुगेको ओझाले जानकारी दिनुभयो।
तर, सुरक्षा स्रोतले भने कन्दङवालाई चुनावका लागि नगद रकम बाँड्दै गरेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको दाबी गरेको छ। घटनास्थलबाट केही सामग्रीसमेत नियन्त्रणमा लिइएको बताइएको छ, यद्यपि आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
निर्वाचनको मिति नजिकिँदै जाँदा झापामा सुरक्षा सतर्कता बढाइएको छ। सम्भावित आचारसंहिता उल्लंघनका गतिविधिमाथि निगरानी कडा पारिएको सुरक्षा निकायले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने सम्बन्धित अधिकारीहरूले बताएका छन्।



