झापा । भद्रपुरको झाडीमा भेटिएका नवजात शिशु (छोरा)लाई विराटनगरका डाक्टर दम्पत्तीलाई वैकल्पिक हेरचाहका लागि जिम्मा लगाएका छन् ।
भद्रपुर नगरपालिकामा मंगलबार बसेको बाल अधिकार समितिको बैठकले मोरङ जिल्ला विराटनगर महानगरपालिका–१३ बस्ने डा.सुनित अग्रवाल र उनका श्रीमती डा. अंकिता राठीलाई भेटिएका सो शिशुलाई वैकल्पिक हेरचाहका लागि दिने निर्णय गरेको हो ।
डा. सुनिल आर्मी हस्पिटल इटहरीका सर्जन र उनकी श्रीमती नोबेल हस्पिटल विराटनगरकी डेन्टलसहित प्रोफेसर हुन । २०६८ सालमा विवाह गरेका उनीहरूको सन्तान छैन ।
नगरपालिकाले गत भदौ २५ गते भेटिएका शिशुको वैकल्पिक हेरचाहका लागि इच्छुक व्यक्ति तथा संस्थाले सात दिन भित्र सूचिकृत हुन आउन भनी सूचना जारी गरेका थिए । त्यसमध्ये पाँच जना दम्पत्तीले सूचीकृत फारम भरेका थिए ।
पाँच जनामध्ये डाक्टर दम्पत्तीलाई बच्चा जिम्मा लगाइएको नगरपालिकाकी उपप्रमुख तथा बाल अधिकार समितिका संयोजक राधा कार्कीले बताउनु भयो ।
वैकल्पिकको सूचिमा भद्रपुर नगरपालिका– १ की पर्शुराम लुइँटेल र ईश्वरादेवी विमली रहेका छन् । डाक्टर दम्पत्तीसँग वैकल्पिक हेरचाह सम्बन्धी कबुल नामामा हस्ताक्षर गराई प्रादेशिक अस्पताल भद्रपुरको पोषण पुनर्स्थापन गृहमा रहेका बच्चालाई आजै जिम्मा लगाइसकेको जनाईएको छ ।
गत भदौ १२ गते मंगलबार साँझ ७ बजेर ४५ मिनेटको समयमा भद्रपुर नगरपालिका– ७ स्थित एमरेल्ड स्कुल अगाडिबाट फूलबारी टोलतर्फ जाने ग्राभेल सडक किनाराको झाडीमा अन्दाजी १२ देखि १४ दिनको शिशु बेवारिसे अवस्थामा फेला परेको थियो ।