काठमाडौं, २१ फागुनः प्रतिनिधिसभा सदस्यका लागि बिहीबार भइरहेको निर्वाचनमा देशभर उत्साहजनक रूपमा मतदान भइरहेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बिहीबार दिउँसो २ बजेसम्म देशभर कुल ६२ लाख २० हजार ४२ मत खसेको छ। यो कुल मतदाता सङ्ख्याको झन्डै ३३ प्रतिशत हो।
बिहान ७ बजेदेखि नै देशभरका १० हजार ९६७ मतदान स्थलहरूमा मतदाताहरूको बाक्लो उपस्थिति देखिएको छ। केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रहरीले जनाएको छ ।
देशभरका कूल १६५ निर्वाचन क्षेत्रमा एक करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये झन्डै एक तिहाइले दिउँसो दुई बजेसम्ममा आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् ।
प्रादेशिक तथा क्षेत्रीय विवरणअनुसार हालसम्म काठमाडौं उपत्यकामा सबैभन्दा बढी मतदान भएको देखिएको छ। उपत्यकाका १५ निर्वाचन क्षेत्रमा ४७ प्रतिशत मत खसेको छ, जुन देशभरको औसतभन्दा निकै माथि हो। उपत्यकापछि गण्डकी प्रदेशमा मतदानको उत्साह बढी देखिएको छ, जहाँ १८ निर्वाचन क्षेत्रमा ३९ प्रतिशत मत खसिसकेको छ।
त्यस्तै, कर्णाली प्रदेशमा ३६ प्रतिशत, बागमतीमा ३४ प्रतिशत, सुदूरपश्चिममा ३३ प्रतिशत र कोशी प्रदेशमा ३२ प्रतिशत मत खसेको छ । लुम्बिनी र मधेश प्रदेशमा भने मतदानको गति केही सुस्त देखिएको छ। लुम्बिनीमा २९ प्रतिशत र मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रमा हालसम्म २८ प्रतिशत मात्रै मतदान भएको तथ्याङ्क छ ।
निर्वाचन आयोगका अनुसार मतदान साँझ ५ बजेसम्म रहने भएकाले खस्ने मत प्रतिशतमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।




