विराटनगर, ६ चैत । मोरङको सुन्दरहरैंचा नगरपालिकामा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को सङ्क्रमण पुष्टि भएको छ । पंक्षीहरुमा घातक मानिएको सङ्क्रामक रोग पुष्टि भएसँगै सुन्दरहरैंचा नगरपालिकाले सूचना प्रकाशन गरी उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
नगरपालिकाको वडा नम्बर ४ स्थित एक लेयर्स कुखुरा फार्ममा बर्डफ्लु रोग पुष्टि भएको र आसपासका क्षेत्रमा समेत कुखुराहरूमा लक्षण देखिएर मर्ने क्रम बढेपछि नगरपालिकाले कुखुराजन्य वस्तु ओसारपसारमा रोक लगाएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बिहीबार ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै रोगको थप फैलावट रोक्न र सर्वसाधारणको स्वास्थ्य सुरक्षाका लागि विभिन्न ७ बुँदे निर्देशनहरू पालना गर्न आग्रह गर्नुभएको छ ।
नगरपालिकाले अर्को सूचना जारी नभएसम्मका लागि प्रभावित क्षेत्रबाट कुखुरा, अन्डा, मासु, दाना र फार्ममा प्रयोग हुने उपकरणहरूको ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाएको छ । कुखुरापालक कृषकहरूलाई आफ्ना फार्ममा अनावश्यक व्यक्तिको प्रवेशमा रोक लगाउन र प्रवेश तथा निकास बिन्दुमा चुना, फिनेल, स्यानिटाइजर वा साबुन पानी जस्ता निःसङ्क्रामक वस्तुहरूको अनिवार्य प्रयोग गर्न निर्देशन दिएको छ ।
सर्वसाधारणको जानकारीका लागि जारी गरिएको सन्देशमा बिरामी वा मरेका कुखुराहरूलाई खाली हातले नछुन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ । यदि कुनै पनि ठाउँमा कुखुराहरू असामान्य रूपमा बिरामी परेमा वा अचानक मरेमा तुरुन्तै सम्बन्धित वडा कार्यालय वा नगरपालिकाको पशुपन्छी विकास शाखामा जानकारी गराउन भनिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत कार्कीका अनुसार, सङ्क्रमित वा शङ्कास्पद पशुपन्छीहरूको व्यवस्थापन प्रचलित मापदण्ड अनुसार सुरक्षित रूपमा गरिनेछ । स्थानीय बजार तथा मासु पसलहरूलाई समेत सरकारी निकायबाट हुने अनुगमन र निर्देशनहरूको पूर्ण पालना गर्न सूचित गरिएको छ ।
यस घातक रोगको सङ्क्रमण नियन्त्रणका लागि सम्पूर्ण नगरबासीहरूको सहयोगको अपेक्षा गर्दै नगरपालिकाले थप जानकारीका लागि पशुपन्छी विकास शाखामा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । यो समय पशुपन्छी पालक र उपभोक्ता दुवैका लागि सचेत रहनुपर्ने समय भएकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ । सङ्क्रमण फैलिएको फर्म र आसपासका फर्महहरुमा भएका कुखुरा कानुन बमोजिम नष्ट गर्ने पनि बताइएको छ ।



