काठमाडौं, ६ चैतः आज दिउँसोदेखि भोलि बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ। लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण छ।
यसले क्षति पु¥याउनसक्ने भएकाले सतर्कता अपनाउन र अति आवश्यक नपरी घर बाहिर ननिस्किन मौसमविदहरुले सुझाव दिएका छन्।
जल तथा मौसम विज्ञान विभागले आज बिहान ६ बजे जारी गरेको सूचनाअनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा साधारणतया बादल लागेको छ। सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका एक–दुई स्थानमा भने मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षा÷हिमपात भइरहेको छ।
तर, शुक्रबार दिउँसोदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना रहेको छ। शुक्रबारदेखि नै दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लामा र शनिबार कोशी प्रदेशका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ। हावाहुरीको वेग झन्डै ११९ किलोमिटर प्रतिघण्टाको हुने प्रक्षेपण गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति जारी गर्दै मौसम बदलीसँगै देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ। तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने लगायतका जोखिम रहने प्राधिकरणको भनाइ छ।
पछिल्ला केही दिन हावाहुरीका घटनाका कारण मानिसको मृत्यु तथा घाइते भएको भन्दै प्राधिकरणले जोखिम पूर्वानुमान गरिएका क्षेत्रमा बसोबास तथा यात्रा गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
विशेष काम नपरी यात्रामा ननिस्कन, हावाहुरी चलेका बेला घरका झ्यालढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोतहरू बन्द गर्न, सवारीसाधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी सुरक्षित स्थानमा जानसमेत अनुरोध गरेको छ।
हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनि नबस्न, बिजुलीको तार लत्रिएको छ भने नछुन र विद्युतीय उपकरण नचलाउन तथा जोखिमयुक्त स्थानमा नबस्न पनि प्राधिकरणले अनुरोध गरेको छ।



