भियतनाममा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेपछि कलाकार तथा अभियन्ता माधव कल्पित गृह जिल्ला झापा आइपुगेका छन्। राजधानी काठमाडौंबाट झापा आएका उनलाई भद्रपुर विमानस्थलमा विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समर्थकहरूले उत्साहपूर्ण रूपमा स्वागत गरेका छन्।
नाट्य प्रतिष्ठान, नागरिक बचाउ महाअभियान नेपाल तथा नागरिक बचाउ दल नेपालका कार्यकर्ताहरूको उल्लेखनीय उपस्थितिमा आयोजित स्वागत कार्यक्रममा स्थानीय नागरिकहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो। बाजागाजा, माल्यार्पण तथा खादा ओढाएर गरिएको स्वागतले कार्यक्रमलाई अझ भव्य बनाएको थियो।
कल्पितको नेतृत्वमा झापामा स्थापना गरिएको ‘झापा नाटक घर’ तथा सांस्कृतिक संग्रहालयको प्रभावकारी सञ्चालन र सांस्कृतिक संरक्षणमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै भियतनाम सरकारले उनलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान गरेको हो। उक्त सम्मान २०२६ मार्च ८ मा भियतनामको दानाङ सहरमा आयोजित विशेष समारोहबीच प्रदान गरिएको थियो।
सम्मान प्राप्तिपछि स्वदेश फर्किएका कल्पितले आफूलाई प्राप्त सम्मान सम्पूर्ण नेपाली कला, संस्कृति र समाजसेवाप्रति समर्पित रहेको बताए। उनले आगामी दिनमा अझ सक्रिय रूपमा सांस्कृतिक विकास, कला प्रवर्द्धन तथा सामाजिक अभियानहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय तहदेखि अन्तर्राष्ट्रिय स्तरसम्म नेपालको कला र पहिचानलाई चिनाउन सफल भएको भन्दै सहभागीहरूले कल्पितको कार्यको प्रशंसा गरेका थिए। उक्त सम्मानले झापा मात्र नभई समग्र देशकै गौरव बढाएको धारणा व्यक्त गरिएको छ।



