बिर्तामोड, ७ चैत : बिर्तामोड नगरपालिका वडा नम्बर १ ले उत्कृष्ट कर्मचारी तथा उत्कृष्ट टोल विकास संस्थाहरूलाई सम्मान गरेको छ।
वडा कार्यालयको सभाहलमा आज आयोजित कार्यक्रममा वडा कार्यालयमा खरिदार पदमा कार्यरत कर्मचारी गीतादेवी ढुंगानालाई ‘वर्ष उत्कृष्ट कर्मचारी’को रूपमा सम्मान गरिएको छ । उहाँलाई ५ हजार १ सय नगदसहित सम्मान गरिएको हो ।
यसैगरी, वडा कार्यालयले तीन वटा टोल विकास संस्थालाई ‘वर्ष उत्कृष्ट टोल’का रूपमा सम्मान गरेको छ। सम्मानित हुने टोलहरूमा पञ्चकन्या उन्नति टोल, कालिका नगर टोल र आदर्श नगर टोल विकास संस्था रहेका छन्।
उत्कृष्ट कर्मचारी र टोल विकास संस्थाका प्रतिनिधिहरूलाई कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडाध्यक्ष अग्निप्रसाद पाण्डे लगायत जनप्रतिनिधिहरूले खादा ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो ।
कर्मचारी र टोल विकास संस्थालाई वर्षभरिका भएका गतिविधिलाई सूचकका रूपमा लिएर सम्मान गरिएको वडासचिव जानुका बस्नेतले जानकारी दिनुभयो।
यसै अवसरमा नागरिकता, लागूपदार्थ दुर्व्यसन तथा साइबर अपराध सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरिएको छ।
नागरिकता बनाउँदा आउने समस्या तथा कानुनी पक्षबारे बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र र जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत रुपक काफ्लेले प्रशिक्षण दिनुभयो ।
त्यस्तै लागूपदार्थ दुर्व्यसन र साइबर अपराधका विषयमा इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडका प्रहरी निरीक्षक रुपेश राईले प्रशिक्षण दिनुभयो ।
कार्यक्रममा वडा नम्बर १ का सबै टोल विकास संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो।



