काठमाडौं, ८ चैत: इजरायलको दक्षिणी सहर अरादमा भएको इरानी मिसाइल आक्रमणले ठूलो क्षति पुर्याएको छ।
स्थानीय दमकल विभागका अनुसार मिसाइल सहरको केन्द्र भागमा खसेको थियो, जसले सिटी सेन्टर र आसपासका आवासीय क्षेत्रमा व्यापक क्षति निम्त्याएको छ।
घटनास्थलमा उद्धार तथा राहत कार्य जारी रहेको जनाइएको छ। आक्रमणपछि इजरायल सरकारले अराद क्षेत्रमा संकटकाल लागू गरेको छ।
सञ्चारमाध्यमका विवरणअनुसार घटनामा कम्तीमा ८८ जना घाइते भएका छन्। इजरायली आपत्कालीन सेवाले घाइतेहरूको उपचार भइरहेको जानकारी दिँदै एक पाँच वर्षीया बालिकाको अवस्था गम्भीर रहेको जनाएको छ।
बाक्लो बस्तीमा मिसाइल खसेकाले धेरै भवनहरूमा क्षति पुगेको र केही संरचना ध्वस्त भएका छन्। स्थानीय प्रशासनले नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।
इरानी संसद्का सभामुख मोहम्मद–बाकर गालिबाफले सामाजिक सञ्जालमार्फत हालै भएका मिसाइल आक्रमणले इजरायलको हवाई सुरक्षा प्रणाली कमजोर भएको संकेत गरेको बताएका छन्।
उनले इजरायलको आकाश अब सुरक्षित नरहेको र युद्ध नयाँ चरणमा प्रवेश गरेको दाबी गरेका छन्। इजरायली स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएयता ४ हजार २९२ भन्दा बढी घाइते अस्पताल पुगेका छन् ।
लेबनानस्थित सशस्त्र समूह हिजबुल्लाहले आफ्ना लडाकुहरूले सीमावर्ती क्षेत्रमा इजरायली सैनिक र सैन्य सवारीसाधनलाई लक्षित गरेको जनाएको छ।
समूहका अनुसार मार्काबा क्षेत्रमा गस्तीमा रहेका सैनिकमाथि रकेट प्रहार गरिएको हो। त्यस्तै, अल अदाइसेह सीमा क्षेत्रमा पनि आक्रमण गरिएको दाबी गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र हर्मोज जलमार्ग पूर्ण रूपमा खोल्न चेतावनी दिएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत उक्त सन्देश सार्वजनिक गरेका हुन्।
ट्रम्पले निर्धारित समयभित्र जलमार्ग नखोले कडा सैन्य कारबाही गरिने र इरानका ऊर्जा पूर्वाधारलाई लक्षित गरिने चेतावनी दिएका छन्।



