शनिवार, मंसिर ८, २०८१
Nayapaper | अनलाइन पत्रिका

बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणलाई तत्काल अघि बढाउन सभामुख घिमिरेको निर्देशन

सोमवार, असोज ८, २०८०

विर्तामोड । सभामुख देवराज घिमिरेले बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणलाई तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ् । आज गृह जिल्ला आउनुभएका सभामुख घिमिरेले सो सडक निर्माणमा ढिलाई भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।

विभिन्न कार्यक्रममा सहभागी हुन तीन दिनका लागि झापा आउनुभएका सभामुख घिमिरेले बिर्तामोडस्थित आफ्नो सचिवालयमा साँझ पत्रकार भेटघाट गर्नुभयो । पत्रकार भेटघाटमा बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणलाई तत्काल सुचारु गर्न निर्देशन दिएको बताउनुभयो । उहाँले निर्माण व्यवसायीले बजेट नपाएको भन्दै झुटो कुरा गरेर काम रोक्ने प्रयास गरेको बताउनुभएको छ । बजेट हुँदाहुँदै पनि काम रोक्नु वेठिक हुने सभामुख घिमिरेको भनाई छ ।
यस्तै, अघिल्लो महिना शनिश्चरे खुदुनावारी सडक खण्डको विरिङ पुल चर्किएको घटनामा ध्यानाकर्षण भएको उहाँको भनाई थियो । उहाँले जिल्लाका विभिन्न विकासका परियोजना बारे चासो राख्दै निर्माण गर्नुपर्ने र सूचारु आयोजनाहरुको कामलाई अघि बढाइने पत्रकारहरुलाई जानकारी गराउनुभयो ।
झापा क्षेत्र नं. २ बाट निर्वाचित भए पनि देशभरका नागरिकको आवाज सम्बोधन गर्ने जिम्मेवारीमा रहेको अवगत गराउँदै आफ्नो क्षेत्रको विकासलाई प्राथमिकता दिदैं जाने बताउनुभयो ।
संसदमा जिम्मेवार पूर्वक ढंगबाट काम गर्दै दलहरुबीच एकता कायम गरेर जानुपर्ने दायित्व आफैसँग भएको उहाँको भनाई थियो । सभामुख घिमिरेले सरकारले विद्येयकहरु ल्याउँदा सरोकार पक्षहरुको पनि राय, सूझावका आधारमा ल्याउनुपर्ने धारणा राख्नुभयो । पत्रकार भेटघाटमा घिमिरेले जनताप्रति सरकार गम्भीर हुन नसकेको बताउनुभयो । जनताप्रति सरकारलाई गम्भीर बनाउन आफ्नो तर्फबाट मद्दत गर्ने घिमिरेको भनाई थियो ।

सम्बन्धित खबर