काठमाडौँ. ८ चैतः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू सञ्जीव गौतम, राजन पोख्रेल र प्रदीप अधिकारीसमेत प्रतिवादी रहेका छन्। उनीहरूविरुद्ध ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो दाबी गरिएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा परामर्श सेवा खरिद प्रक्रियामा अनियमितता भएको अख्तियारको दाबी छ ।
मुद्दामा प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्र सिंह रावल, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल, उपनिर्देशक प्रवीण न्यौपाने, प्रबन्धक चाँदमाला श्रेष्ठ, आयोजना प्रमुख विनेश मुनकर्मी, लेखा अधिकृत नरेन्द्रराज सैंजु, प्रमोद नेपाल, सविन फुयाल, उप प्रबन्धक हिमज्योती थापा, अधिकृत राजाराम चौधरीसमेत प्रतिवादी छन् ।
यस्तै, परामर्शदाता कम्पनी स्लाट जेभीसँग सम्बन्धित यमबहादुर भण्डारी, उद्धव चौलागाई, शोभेन्द्रराज जोशी, प्रमोद दवाडी तथा निर्माण कम्पनी चिनियाँ सीएएमसी र त्यससँग सम्बद्ध वाङ बो र प्रोजेक्ट म्यानेजर याङ झियाङलाई पनि प्रतिवादी बनाइएको छ। सबैलाई कसुरअनुसार छुट्टाछुट्टै बिगो कायम गरिएको जनाइएको छ ।
अख्तियारका अनुसार उनीहरूको मिलेमतोमा परामर्श सेवा खरिद प्रक्रियामा उक्त रकम बराबरको भ्रष्टाचार भएको हो । यो पोखरा विमानस्थलसम्बन्धी दोस्रो मुद्दा हो। यसअघि पनि यही प्रकरणमा मुद्दा दायर भइसकेको छ भने उक्त मुद्दा अझै विचाराधीन छ। अधिकारी भने अर्को मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन्।



