झापा,८ चैत्र : बुद्धशान्ति गाउँपालिका–४ टिमाईस्थित मकैबारीमा घाइते अवस्थामा फेला परेको चितुवाले आक्रमण गर्दा ४ जना घाइते भएका छन्।
कमल खड्काको मकैबारीमा चितुवा देखिएको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि डिभिजन वन कार्यालय झापासँग समन्वय गरी चितुवालाई नियन्त्रणमा लिन पहल गरिएको थियो।
कोशी टप्पु वन्यजन्तु आरक्षण, सुनसरीबाट विशेषज्ञ टोली साँझ करिब १८:०० बजे घटनास्थल पुगेको थियो। नियन्त्रणमा लिन प्रयास गरिँदै गर्दा चितुवा आक्रोशित भई सुरक्षामा खटिएका सशस्त्र प्रहरीका स.प्र.ना.नि. केदार श्रेष्ठमाथि आक्रमण गरेको थियो। आक्रमणबाट उनको अनुहार, हातखुट्टा, कान तथा बायाँ पाखुरामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको जनाइएको छ।
यसैगरी, बुद्धशान्ति–६ निवासी ५० वर्षीय कृष्ण गजमेर, ५४ वर्षीय दुर्गा ब. कटुवाल तथा मेचीनगर नगरपालिका–१० निवासी २६ वर्षीय विशाल कार्की पनि चितुवाको आक्रमणबाट घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको छ। घाइते चारै जनाको भागिरथा न्यौपाने अस्पतालमा उपचार भइरहेको छ।
चितुवाले स्थानीय बासिन्दामाथि समेत आक्रमण गर्न थालेपछि आक्रोशित स्थानीयले कुटपिट गर्दा चितुवाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
मृत चितुवालाई आवश्यक अनुसन्धान तथा प्रक्रिया पूरा गर्न डिभिजन वन कार्यालय झापामा लगिएको प्रहरीले जनाएको छ।



