बिर्तामोड, ८ चैत : झापाको बिर्तामोड–१ स्थित किड्स ग्यालेक्सी मन्टेश्वरी स्कुलले आफ्नो १०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार एक भव्य कार्यक्रमका बीच मनाएको छ।
२०७२ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल पीजी, नर्सरी, एलकेजी र युकेजी तहमा गरी ६५ जना विद्यार्थी अध्ययनरत छन्।
विद्यालयले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको प्रिन्सिपल कृष्णा खनाल भट्टराईले जानकारी दिनुभएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिकाको शिक्षा शाखा अधिकृत जानुका रेग्मी काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूलाई युकेजीमा अध्ययनरत विद्यार्थी प्रणव लिम्बुले स्वागत गर्नु भएको थियो।
कार्यक्रममा प्याप्सन बिर्तामोड नगर कमिटीका अध्यक्ष सुरेन्द्र खरेल, व्यवसायी युवराज निरौला र मेची क्याम्पसका प्राध्यापक सुनिल शर्माले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नु भयो ।
कार्यक्रममा प्रिन्सिपल भट्टराईले विद्यालयले वार्षिक क्यालेण्डर अनुसार विभिन्न चाडपर्व तथा अतिरिक्त क्रियाकलापहरू मनाउँदै आएको उल्लेख गर्दै यसले विद्यार्थीहरूलाई संस्कृतिसँग जोड्नुका साथै व्यवहारिक रूपमा सक्षम बनाउने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रमको सञ्चालन मिलनकुमार भट्टराईले गर्नु भएको थियो।



