बिर्तामोड, चैत १० : चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेशको अध्यक्षमा वीरेन्द्रकुमार शाह निर्वाचित हुनुभएको छ।
संघको विराटनगरमा सोमबार सम्पन्न तेस्रो अधिवेशनले शाहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
संघको उपाध्यक्षमा रमेश तिवारी, महिला उपाध्यक्षमा गोमा ढुंगाना, महासचिवमा विकल श्रेष्ठ, सचिवमा तुलसीप्रसाद निरौला, समावेशी सचिवमा सोम सुनुवार र कोषाध्यक्षमा गोपाल काफ्ले निर्वाचित हुनुभएको छ।
त्यस्तै सदस्यहरूमा स्नेहा श्रेष्ठ, रेखा पौडेल, निशान कँडेल, कविता घिमिरे, गोपाल पौडेल, सुनिल यादव र पारस मण्डल रहनुभएको छ।
नयाँ कार्यसमिति चयन गर्न चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर वलामी, कोशी प्रदेशका सल्लाहकार भीषण राई, प्रदेश इञ्चार्ज नरेन्द्र बस्नेत र प्रदेश अध्यक्ष सञ्जु राई रहेको निर्वाचन समिति गठन गरिएको थियो।
नवनिर्वाचित पदाधिकारीहरूलाई संघका केन्द्रीय अध्यक्ष समीर वलामीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो।
कार्यक्रममा कोशी प्रदेशकी अध्यक्ष सञ्जु राईले आफ्नो कार्यकालमा सम्पन्न कार्यक्रमहरूको जानकारी दिँदै सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।
नवनिर्वाचित अध्यक्ष वीरेन्द्रकुमार शाहले संघलाई थप प्रभावकारी, सक्रिय र व्यावसायिक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अध्यक्षमा निर्वाचित भएलगत्तै शाहले विराटनगरस्थित पारस मल्टिपल हस्पिटलसँग कोशी प्रदेशका चलचित्र पत्रकारहरूलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्झौता गर्नुभएको छ। सम्झौतापत्रमा संघका अध्यक्ष शाह र हस्पिटलका प्रशासन प्रमुख हेमनारायण मेहताले हस्ताक्षर गर्नुभएको छ।
कार्यक्रम सञ्जु राईको अध्यक्षता तथा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष वीरेन्द्रकुमार शाहले स्वागत मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि नागेश कोइराला, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका संस्थापक अध्यक्ष विक्रम लुईंटेल, प्रदेश अध्यक्ष भरत खड्का, संघका केन्द्रीय अध्यक्ष समीर वलामी, सल्लाहकार भीषण राई, नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, प्रेस चौतारीका प्रदेश सचिव रवीन कट्टेल तथा झापा अध्यक्ष एकराज प्रधान लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन नरेन्द्र बस्नेत र विकल श्रेष्ठले गर्नुभएको थियो।



