काठमाडौँ, १५ चैतः पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको उपचार भइरहेको छ ।
त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालका अनुसार ओलीमा ‘मल्टिपल’ स्वास्थ्य समस्या (मुटुको धड्कनमा तलमाथि) देखिएकाले भर्ना गर्नुपरेको जनाउँदै आज पनि उपचार भइरहेको जनाइएको छ ।
आइतबार अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उहाँ हाइड्रोनेफ्रोसिस, मधुमेह, उच्च रक्तचाप, हाइपोथायरायडिज्म, एपीसी (उपचारमा) र कोलेलिथियासिस भएको मिर्गौला प्रत्यारोपणपछिको बिरामी हुनुहुन्छ ।”
हाल ओली अस्पतालको एनेक्स १ को शय्या नम्बर ५०१ मा अवलोकन र निगरानीमा रहेका प्रशासनले जनाएको छ । चिकित्सकको निगरानीमा रहेकाले उहाँलाई आज अदालतमा बहसको क्रममा भर्चुअल माध्यमबाट उपस्थित गराइएको थियो ।



