काठमाडौं, १७ चैत । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको खेलकुद क्षेत्रको विकासका लागि खेलकुदलाई विद्यालयको पाठ्यक्रममै समावेश गर्ने योजना अघि सार्नुभएको छ ।
मंगलबार राष्ट्रिय खेलकुद परिषद्मा निरीक्षणका लागि पुगेका मन्त्री पोखरेलले यस्तो बताउनुएको हो । अबको ५ वर्षमा ग्रासरुटबाटै खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
'अहिले नेपालको खेलकुद इन्डस्ट्री हेर्ने हो भने धेरैजसो खेलाडीहरू नेपाल प्रहरी, सेना र एपीएफबाट आएका छन् किनभने त्यहाँ डाइट, ट्रेनिङ र नियमित आम्दानीको सुनिश्चितता छ,' उहाँले भन्नुभयो, 'तर, १८ वर्ष पुगेपछि मात्र ती निकायमा जान पाइन्छ । हामीले त्यहीस्तरको डाइट र ट्रेनिङ सानो उमेरदेखि नै दिन सक्यौँ भने खेलकुदको विकास अझै तीव्र गतिमा हुन्छ ।'
नेपालको खेलकुद क्षेत्रमा अहिले देखिएको मुख्य समस्या सानो उमेरबाटै खेलाडी उत्पादन हुन नसक्नु रहेको उहाँको भनाइ छ । अब नीतिगत र कानुनी रूपमै खेलकुदलाई शिक्षासँग जोड्ने उहाँको प्रतिबद्धता छ ।
'महानगरमा हुँदा कतिपय कानुनी अड्चनले गर्दा पाठ्यक्रममा जोड्न सकिएन, तर अब हामी नीति निर्माणकै तहमा छौँ,' उहाँले भन्नुभयो, 'पाठ्यक्रम विकास केन्द्रसँग मिलेर विद्यालयको पाठ्यक्रममै खेलकुदलाई जोड्न हामीलाई कसैले रोक्दैन ।'
मन्त्री पोखरेलले खेलले शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा पनि ठूलो भूमिका खेल्ने बताउनुभयो । आफूलाई मन्त्री वा अध्यक्ष भन्दा पनि एक ‘टिम मेम्बर’ को रूपमा मात्र हेर्न उहाँको आग्रह छ । सबै विज्ञ र कर्मचारीहरूलाई पूर्वाग्रह त्यागेर एकजुट हुन उनले आह्वान गर्नुभयो । मन्त्री पोखरेलले आगामी ५ वर्ष खेल क्षेत्रलाई ग्रासरुटसँग जोडेर दीर्घकालीन विकास गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभयो ।



