काठमाडौं, २३ चैत । आजदेखि देशभरका सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् ।
इन्धन खपत घटाउने उद्देश्यसहित सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा कार्यालय समय परिवर्तन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को यही निर्णयअनुसार आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकायको नयाँ समय लागू भएको हो ।
गृह मन्त्रालयले उक्त निर्णय राजपत्रमा प्रकाशन गर्दै सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने व्यवस्था लागू भएको जनाएको छ। शैक्षिक संस्थाबाहेक अन्य कार्यालय तथा निकायको समय भने बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कायम गरिएको छ।
राजपत्रअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म रहने उल्लेख गरिएको छ।


