काठमाडौँ, २५ चैत । अन्तिम समयसीमा सकिएसँगै अमेरिका र इजरायलले इरानमाथि भीषण आक्रमण गरेका छन् । अमेरिकी टेलिभिजन संस्था सिएनएन, अमेरिकी समाचार संस्था एपी, अलजजिरालगायतले इरानको खर्ग टापु, पुल, रेल सञ्जाल, ऊर्जा पूर्वाधारलगायतमा आक्रमण भइरहेको जनाएका छन् ।
इजरायलले तेहरानसहित विभिन्न क्षेत्रमा इरानी ‘सैन्य पूर्वाधार’ लक्षित गर्दै नयाँ हवाई आक्रमणको लहर सुरु गरेको जनाएको छ । इरानी सञ्चार माध्यमका अनुसार तेहरान र नजिकको कराज क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन् ।
इजरायली सेनाले इरानबाट आफ्नो क्षेत्रतर्फ प्रहार गरिएका क्षेप्यास्त्रलाई हवाई सुरक्षा प्रणालीमार्फत अवरोध गर्ने प्रयास भइरहेको जनाएको छ । खाडी क्षेत्रभरि तनाव चुलिँदै जाँदा बहराइनमा हवाई आक्रमणको साइरन बजाइएको छ भने संयुक्त अरब इमिरेट्सले मिसाइल र ड्रोन रोक्न सक्रिय रहेको जनाएको छ । साउदी अरबले पनि आफ्नो पूर्वी क्षेत्रमा प्रक्षेपण गरिएका सात वटा ब्यालेस्टिक मिसाइल अवरोध गरी नष्ट गरेको दाबी गरेको छ, जसका भग्नावशेष ऊर्जा संरचनानजिक खसेको बताइएको छ ।
एकैरातमा ध्वस्त पार्ने चेतावनी
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौतामा नआए एकैरातमा ध्वस्त पार्ने चेतावनी दिनुभएको छ । इरानले भने अमेरिकी प्रस्ताव अस्वीकार गर्दै मुलुकका पूर्वाधार जोगाउन मानव साङ्लो बनाउन इरानी जनतालाई आह्वान गरेको छ । इजरायलले १२ घण्टाका लागि रेलसेवा प्रयोग नगर्न इरानी जनतालाई आह्वान गर्दै चेतावनी जारी गरेको छ ।
बलिदानका लागि इरानी तयार
यता इरानका राष्ट्रपति मसुद पेजेस्कियानले एक करोड ४० लाखभन्दा बढी नागरिक देशको रक्षाका लागि जीवन बलिदान गर्न तयार रहेको दाबी गर्नुभएको छ । उहाँले आफू पनि देशका लागि बलिदान दिन तयार रहेको बताउनुभयो । “एक करोड ४० लाखभन्दा बढी गर्वित इरानीले आफ्नो जीवन इरानको रक्षामा समर्पित गर्न तयार रहेको घोषणा गरेका छन् । म पनि इरानका लागि बलिदानी भएको छु र हुने छु,” उहाँले भन्नुभयो ।
यसअघि इरानका उपखेलकुदमन्त्री अलिरेजा रहिमीले खेलाडी, कलाकार, विद्यार्थी र शिक्षकलाई पावर प्लान्टवरिपरि ‘मानव साङ्लो’ बनाउन आह्वान गर्नुभएको थियो । ट्रम्पले ह्वाइट हाउसमा भन्नुभयो, “ इरानले मङ्गलबार राति ८ः०० बजे पूर्वी समयअघि सम्झौता गर्न आएन भने देशका सबै प्रमुख पुल र पावर प्लान्ट नष्ट गरिने छन् ।” उहाँका अनुसार यो ‘पूरै देशलाई एकैरातमा निसाना बनाउने’ योजना हुन सक्छ । उहाँले बारम्बार समयसीमा थपे पनि यो अन्तिम चेतावनी भएको बताउनुभएको छ ।
इरानले भने हर्मुज जलमार्ग नखोल्ने अडान लिँदै सैन्य कारबाही जारी राख्ने जनाएको छ । इरानी सेनाले ट्रम्पको अभिव्यक्तिलाई ‘अहङ्कारी र आधारहीन धम्की’ भन्दै अस्वीकार गरेको छ । कूटनीतिक प्रयासतर्फ प्रस्तावित ४५ दिने युद्धविराम अझै टुङ्गोमा पुगेको छैन । पाकिस्तान, इजिप्ट र टर्कीको मध्यस्थतामा आएको प्रस्तावलाई सुरुमा सकारात्मक सङ्केत दिइए पनि पछि ट्रम्पले त्यसलाई पर्याप्त नभएको बताउनुभएको छ । इरानले पनि युद्धविराम अस्वीकार गर्दै युद्धको ‘निश्चित अन्त्य’ आवश्यक रहेको जनाएको छ ।
अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सका अनुसार इरानले भविष्यका आक्रमण रोक्ने ग्यारेन्टी र दक्षिणी लेबनानमा आफ्नो सहयोगी हेजबुल्लाहमाथि हुने आक्रमण अन्त्य गर्न माग राखेको छ । प्रस्ताव अनुसार इरानले हर्मुज जलमार्ग पुनः खोल्दै प्रत्येक जहाजबाट करिब २० लाख डलर शुल्क लिने र त्यसलाई ओमानसँग बाँड्ने योजना रहेको बताइएको छ ।
सर्वोच्च नेता गम्भीर बिरामी
इरानको नेतृत्वबारे अनिश्चितता बढिरहेका बेला सर्वोच्च नेता मोज्तबा खामेनी गम्भीर स्वास्थ्य अवस्थाका कारण कोम सहरमा उपचाररत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उहाँ बेहोश अवस्थामा रहेको र राज्य सञ्चालनसम्बन्धी निर्णय प्रक्रियामा सहभागी हुन नसक्ने स्थितिमा रहेको दाबी गरिएको छ ।
द टाइम्सले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा खामेनीको अवस्था गम्भीर रहेको उल्लेख गरिएको छ । पश्चिम एसियामा युद्ध सुरु भएयता खामेनी सार्वजनिक रूपमा देखिनुभएको छैन । उहाँको नाममा जारी गरिएका सन्देश भने इरानी सरकारी सञ्चारमाध्यममार्फत प्रसारित भइरहेका छन् । त्यसैबिच सोही प्रतिवेदनमा खामेनीको सम्भावित निधनलाई ध्यानमा राख्दै कोममा अन्त्येष्टि तयारीसमेत सुरु गरिएको उल्लेख गरिएको छ, यद्यपि यसबारे आधिकारिक पुष्टि भएको छैन ।


