नेपालको पूर्वी क्षेत्र र भारतको पश्चिम बङ्गालबीच सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजित दुई दिने ‘कोशी–बङ्गाल सांस्कृतिक एवं पर्यटकीय उत्सव’ आपसी सहमति र सकारात्मक सन्देशसहित सम्पन्न भएको छ। उत्सवले कला, संस्कृति र पर्यटनको माध्यमबाट दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने संकेत दिएको छ।
उत्सवमा नेपाल र भारतका कलाकारहरूले आ–आफ्नो मौलिक कला प्रस्तुत गर्दै दर्शकलाई सांस्कृतिक विविधताको झल्को दिएका थिए।
करिब ३० भन्दा बढी स्टलमार्फत दुवै देशका कला, संस्कृति, परम्परा र स्थानीय उत्पादनहरूको प्रदर्शनी गरिएको थियो, जसले सहभागीलाई एकै स्थानमा बहुआयामिक अनुभव दिलायो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहेका थिए। गायक राजिव देव नाथले बङ्गाली र नेपाली गीत प्रस्तुत गर्दै सांगीतिक समन्वयको उदाहरण पेश गरे। त्यस्तै, भारतीय कलाकारहरूले प्रस्तुत गरेका परम्परागत नृत्यहरूले उत्सवलाई थप रंगीन बनायो। झापाको ‘घुमौँ झापा’ वृत्तचित्रले यहाँको पर्यटन सम्भावनालाई उजागर गर्यो भने मोरङको पथरी शनिसरेबाट आएको महिला जागरुक समूहले संगिनी नृत्य प्रस्तुत गर्दै नेपाली लोक संस्कृतिको मिठास झल्कायो।
यसैगरी, याक्थुम चुम्लुङद्वारा प्रस्तुत च्याब्रुङ नाच, इलामबाट आएका लेप्चा समुदायको लेप्चा नृत्य तथा पश्चिम बङ्गालका कलाकारहरूको विविध सांस्कृतिक झाँकीले दर्शकलाई मन्त्रमुग्ध बनायो। कार्यक्रममार्फत कोशी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्य, होमस्टे, धार्मिक स्थल, एडभेन्चर गतिविधि, साइकल यात्रा र पदयात्राका बारेमा समेत जानकारी गराइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि, कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले यस्तो कार्यक्रमले कोशी प्रदेश र पश्चिम बङ्गालबीच सद्भाव, सहकार्य र समझदारीलाई मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले कोशी प्रदेशले पर्यटन प्रवर्द्धनमा ठूलो लगानी गरिरहेको उल्लेख गर्दै यस्ता उत्सवले आर्थिक समृद्धिको ढोका खोल्ने दाबी गरे।
पश्चिम बङ्गालका पर्यटनदूत राज बसुले संस्कृतिको आदान–प्रदानले सम्बन्धलाई बलियो बनाउने धारणा राख्दै “संस्कार जोडिएपछि मन जोडिन्छ, र मन जोडिएपछि व्यापार र समृद्धिको बाटो खुल्छ” भन्ने विचार प्रस्तुत गरे।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सम्भावना हुँदाहुँदै पनि व्यवस्थापन अभावका कारण अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै अब सहकार्यलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले कोशी प्रदेश भ्रमणका लागि अतिथिहरूलाई निम्तो दिएका थिए भने कोशी पर्यटन वर्ष २०८२ का सदस्य राजन दंगालले कोशीका ‘भर्जिन’ क्षेत्रहरूको अवलोकन गर्न आग्रह गरे।
कार्यक्रम संयोजक इन्दिरा श्रेष्ठको अध्यक्षतामा सम्पन्न उत्सवले केवल मनोरञ्जन मात्र होइन, दीर्घकालीन सम्बन्ध र सहकार्यको आधार तयार गरेको सहभागीहरूको भनाइ छ। समापन समारोहमा सहभागीहरूलाई मायाको चिनो तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।
दुई दिनसम्म चलेको यो उत्सवले नेपाल–बङ्गालबीचको सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास जगाएको छ। सहभागीहरूले यस्ता कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिँदै यसले भविष्यमा पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका छन्।


