शनिवार, असोज ५, २०८१
NayaPaper | अनलाइन पत्रिका

आन्दोलनका केहि मागहरु संसोधन गर्न स्थानीय तह संघर्ष समिति झापाको प्रस्ताव

मङ्गलवार, असोज १६, २०८०

बिर्तामोड । स्थानीय तह संघर्ष समिति झापाले आन्दोलनका मागहरुमा केहि संसोधन गर्न प्रस्ताव गरेको छ ।
सोमबार प्रदेश समिति सदस्य देवेन्द्र कटुवालको प्रमुख आतिथ्यतामा बिर्तामोडमा बसेको बैठकले केहि बुंदा संसोधनका लागि केन्द्रिय समितिलाई प्रस्ताव गर्ने निर्णय गरेको हो ।

समितिले कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुको दरवन्दीलाई पूल दरवन्दीमा राखि रिक्त हुने दरबन्दीमा कम्तिमा २५ प्रतिशत संघमा सरुवा गर्ने विषय थप गर्नु पर्ने र सातौं तहमा जेष्ठताको सट्टा माथिल्लो तहमा श्रेष्ठता गरि उल्लेख गर्नु पर्ने प्रस्तावको लागि निर्णय गरेको स्थानीय तह संघर्ष समिति बिर्तामोडका संयोजक तेजिन्द्र तामाङले जानकारी दिनुभयो ।

समितिले माग पत्र सहितको व्यानर प्रत्येक पालिकामा राख्ने, पालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण सहित माग पत्र पेश गर्ने पनि निर्णय गरेको छ ।
यस्तै काठमाडौंमा भईरहेको आन्दोलनमा प्रत्येक पालिकाबाट कम्तिमा ३ जनालाई सहभागिता गराउने भएको जनाईएको छ ।
बैठकमा बोल्दै प्रदेश समिति सदस्य देवेन्द्र कटुवालले सरकारलाई धक्का दिने खालको आन्दोलन गर्नु पर्ने बताउनु भयो । बैठकमा बोल्दै उहांले लोकतन्त्र आएपछि कर्मचारीलाई हेर्ने दृष्टिकोण झन नराम्रो भएको बताउनु भयो ।

स्थानीय तह संघर्ष समितिले यस अघि झापाका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन–पत्र बुझाएको छ । स्थानीय तहका कर्मचारीहरु आफ्ना माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन माग गर्दैआन्दोलनमा उत्रिएका छन् ।

 

 

सम्बन्धित खबर