झापा : अर्जुनधारामा जारी इन्डो–नेपाल यू–१३ टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘ए’मा आज पनि दुई महत्वपूर्ण खेल हुँदैछन्।
आजको पहिलो खेलमा हिमावी क्रिकेट एकाडेमी दमक र मिलन क्रिकेट क्लब काँकरभिट्टाबीच बिहान ९ बजे प्रतिस्पर्धा हुनेछ। त्यसपछि दिउँसो १ बजे हुने दोस्रो खेलमा हिजो विजयी भएका दुई टोली बोस्टन क्रिकेट एकाडेमी र सरस्वती क्रिकेट एकाडेमी आमनेसामने हुनेछन्।
समूह ‘ए’ अन्तर्गत हिजो सम्पन्न खेलहरूमा बोस्टन क्रिकेट एकाडेमीले काँकरभिट्टाको मिलन क्रिकेट क्लबमाथि १४३ रनको फराकिलो जित निकाल्दै दमदार सुरुवात गरेको थियो। त्यस्तै, धुलाबारीको सरस्वती क्रिकेट एकाडेमीले दमकको आस्था क्रिकेट एकाडेमीलाई ८७ रनले पराजित गर्दै अंकतालिकामा मजबुत उपस्थिति जनाएको थियो।
अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा तथा बोस्टन क्रिकेट एकाडेमीको सह–आयोजनामा अर्जुनधारा–९ स्थित नमुना खेल मैदानमा प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोगितामा नेपालका ८ तथा भारतका कोलकाता र पटनाबाट आएका २ टोलीसहित कुल १० टोली सहभागी छन्।
लिग–कम–नकआउट प्रणालीमा भइरहेको प्रतियोगितामा टोलीहरू दुई समूहमा विभाजित छन्। समूह चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।


