झापा : बिर्तामोड चिल्ड्रेन हस्पिटलले बालबालिकाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। अस्पतालले शुक्रबार पत्रकार सम्मेलनमार्फत नयाँ वर्षको अवसरमा बैशाख ७ गतेदेखि २१ गतेसम्म नवजात शिशुदेखि बालबालिकासम्मका लागि स्वास्थ्य परीक्षण तथा उपचार सेवा निःशुल्क उपलब्ध गराइने जनाएको हो।
अस्पतालकी अध्यक्ष लीला मैनालीका अनुसार शिविर अवधिभर ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क हुनेछ भने ल्याबबाहेकका अन्य परीक्षणमा २० प्रतिशतसम्म छुट दिइनेछ। साथै औषधिमा पनि विशेष छुटको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो।
अस्पतालका प्रवन्ध निर्देशक तथा बाल रोग विशेषज्ञ डा. रुपक आचार्यले ग्रामीण तथा विपन्न क्षेत्रबाट आउने सेवाग्राहीलाई स्थानीय तहको सिफारिसमा शिविरपछि पनि २० प्रतिशतसम्म छुट उपलब्ध गराइने बताउनुभयो। शिविरमा बालरोग तथा पोषणसम्बन्धी समस्याको पहिचान र उपचारका लागि अनुभवी चिकित्सकको टोली परिचालन गरिने जनाइएको छ।
शिविरमा अत्याधुनिक जापानिज प्रविधियुक्त उपकरणमार्फत बालरोग, पोषणसम्बन्धी समस्या तथा जटिल स्वास्थ्य अवस्थाको पहिचान गरी अनुभवी चिकित्सक र नर्सिङ स्टाफबाट सेवा प्रदान गरिने डा. आचार्यले बताउनुभयो।
बालबालिकालाई सहज पहुँचमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा. सुजता मैनालीले बताउनुभयो।
अस्पतालले स्थानीय तह तथा संघसंस्थासँग समन्वय गरी आवश्यक परे अन्य स्थानमा पनि यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्न सकिने जनाएको छ। पत्रकार सम्मेलनमा अस्पतालका सल्लाहकार मदन गोपाल सुब्बा लगायतले आफ्नो धारणा राख्नुभएको थियो।


