झापा । अर्जुनधारामा जारी यू–१३ इन्डो–नेपाल टी–२० च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बी’ बाट भारत, कोलकाताको क्रिकेट जोन अन्दल र इनरुवा क्रिकेट एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन्।
समूह ‘बी’ को अन्तिम तथा १०औं खेलमा क्रिकेट जोन अन्दलले इनरुवाको फुलबारी स्पोर्ट्स एकेडेमीमाथि ४ रनको रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो। निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनाएको अन्दलका लागि वेद कुमारले उत्कृष्ट ७३ रन बनाए। अंशु कुमारले २४ रन जोड्दा ध्रुव लालले ७ रनको योगदान दिए।
फुलबारीका लागि दिवश विष्टले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए भने अदित यादव र समर्थ रायाले समान १–१ विकेट हात पारे।
१४२ रनको लक्ष्य पछ्याएको फुलबारीले २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन मात्र बनाउन सक्यो। मुकेश यादवले ५५ रन बनाउँदा प्रिन्स कुमारले ३१ तथा समर्थ रायाले २२ रन जोडे। अन्दलका साजिद सेखले २ विकेट लिए भने अर्घदीप मण्डल र वेद कुमारले समान १–१ विकेट लिए।
खेलको ‘प्लेयर अफ द म्याच’ वेद कुमार घोषित भए। उनले ७३ रनका साथै १ विकेट लिँदै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। यो हारसँगै फुलबारी प्रतियोगिताबाट बाहिरिएको छ। उसले ४ खेलमा २ जित र २ हारसहित ४ अंक बनाए पनि रनरेटका आधारमा इनरुवाभन्दा पछि परेपछि प्रतियोगिताबाट बाहिरिनुपरेको हो।
समूह ‘बी’ अन्तर्गत ४ खेल खेलेको अन्दलले ३ जित र १ हारसहित ६ अंक बटुल्दै समूह विजेताका रूपमा अघिल्लो चरणको यात्रा तय गरेको हो।
यसअघि भएको समूह ‘बी’ को नवौं खेलमा इनरुवा क्रिकेट एकेडेमीले भारत, पटनाको हाई पर्फमेन्स (एचपी) क्रिकेट एकेडेमीमाथि ९ विकेटको शानदार जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको थियो।
पहिले ब्याटिङ गरेको एचपी १४.२ ओभरमा अलआउट हुँदै ३९ रनमै सीमित भयो। उज्ज्वल कुमारले १० रन बनाउँदा शंशांक सिंहले ८ र पार्थ देवले ५ रन जोडे। इनरुवाका सुदिप कुमार उराउले २.४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। अरमान अन्सारी र सलमान राइनले समान २–२ विकेट हात पारे।
४० रनको सामान्य लक्ष्य इनरुवाले ६.१ ओभरमै १ विकेट गुमाएर पूरा गर्यो। मुकेश मण्डलले १५ रन बनाउँदा अभिषेक राजबर ८ रनमा अविजित रहे भने प्रिन्स महात्मानले ७ रन जोडे। एचपीका लागि उज्ज्वल कुमारले १ विकेट लिए।
यो हारसँगै एचपीको पनि प्रतियोगिता यात्रा टुंगिएको छ। समूह चरणमा ४ खेल खेलेको इनरुवाले २ जित र २ हारसहित ४ अंक बटुलेको थियो। ३ हार र १ जित निकालेको एचपीले भने २ अंक मात्र जोड्न सक्यो। समूह ‘बी’ कै विराटनगरको लायन्स क्रिकेट एकेडेमी पनि २ जित र २ हारसहित ४ अंक भए पनि रनरेटमा पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको छ।
समूह ‘ए’ बाट यसअघि नै अर्जुनधाराको बोस्टन क्रिकेट एकेडेमी र काँकरभिट्टाको सरस्वती क्रिकेट एकेडेमी सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।
अब सेमिफाइनल खेलहरू भोलि अर्जुनधारा–९ स्थित नमुना खेलमैदानमा हुनेछन्। बिहान ९ बजे सुरु हुने पहिलो सेमिफाइनलमा आयोजक बोस्टन क्रिकेट एकेडेमी र इनरुवा क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ। दिउँसो १ बजे हुने दोस्रो सेमिफाइनलमा क्रिकेट जोन अन्दल र सरस्वती क्रिकेट एकेडेमी आमनेसामने हुनेछन्।
अर्जुनधारा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकेडेमीको सह–आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल वैशाख ८ गते हुनेछ। विजेताले नगद १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।


