काठमाडौं, ७ वैशाख । गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा साझेदारी भेटिएको विषयमा स्पष्टीकरण दिनुभएको छ। सोमबार सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले आफूमाथि लागेका आरोपहरूको खण्डन गर्नुभएको छ।
गृहमन्त्री सुधन गुरुङले आफ्नो विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको छ।
गृहमन्त्री गुरुङले भन्नुभएको छ, ‘अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु। सहिदहरूको बलिदान र जेनजी आन्दोलनको मर्म हामीलाई जिम्मेवार बनाउँछ, हल्लामा होइन, प्रमाणमा उभिन।’
मन्त्री गुरुङले आफूमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धानमा पूर्ण सहयोग गर्ने र पार्टीले गर्ने हरेक निर्णयलाई शिरोधार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आफूले २५ लाख रुपैयाँ बराबरको सेयर लुकाएको भन्ने चर्चाको खण्डन गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्को वेबसाइटमा सार्वजनिक गरिएको आफ्नो सम्पत्ति विवरणमा २ करोडभन्दा बढीको लगानी स्पष्ट उल्लेख गरिएको जिकिर गर्नुभएको छ।
स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही विवरणभित्रै समेटिएको बताउँदै उहॉंले यो लुकाउने विषय नभई वर्गीकरणको मात्र सवाल भएको स्पष्ट पारेका छन्। लुकाउने मनसाय भएको व्यक्तिले २ करोडभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक रूपमा नदेखाउने उहॉंको दाबी छ।


