काठमाडौं, ९ वैशाख । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएको छ। विवादित व्यवसायीसँग शेयर कारोबारमा संलग्न भएको आरोप लागेपछि उनले प्रधानमन्त्री बालेन्द्र शाह -बालेन) समक्ष राजीनामा बुझाउनुभएको हो।
उहाँले आज राजीनामाको घोषणा गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु ।”
पछिल्ला दिनहरूमा नागरिक स्तरबाट आफ्नो शेयरलगायत विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको उहाँले जनाउनुभएको छ । गुरुङ गत चैत १३ गते गृहमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले भन्नुभएको छ, “मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु । अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ ।”
प्रधानमन्त्री शाहले पदभार सम्हालेकै दिन मन्त्रिपरिषद् गठन गर्दा गुरुङलाई गृहमन्त्री नियुक्त गरिएको थियो। कार्यकालको सुरुवातमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चामा आएका गुरुङ पछिल्लो समय भने विभिन्न विवादका कारण आलोचनाको केन्द्रमा पर्नुभएको थियो। उच्च स्रोतका अनुसार, रवि लामिछानेसँगको छलफलपछि गुरुङले राजीनामा दिने निर्णय गर्नुभएको थियो।


