कलाकार तथा समाजसेवी रमेश बुढाथोकीले आफ्नो अनौठो क्षमतामार्फत विश्व कीर्तिमान कायम गर्नुभएको छ।
उहाँले संसारको जुनसुकै कुनाबाट ध्वनि संकेतमार्फत बोलाउँदा ३० सेकेन्डभित्र काग बोलाउन सक्ने अद्भुत क्षमता प्रदर्शन गर्दै विश्व रेकर्ड कायम गर्नुभएको हो।
यस उपलब्धिका लागि उहाँलाई भारतको गोवामा आयोजित एक कार्यक्रममा Universal Books of World Records द्वारा आज औपचारिक रूपमा सम्मान तथा उपाधि प्रदान गरिएको हो।
बुढाथोकीको यो क्षमता विश्वमै दुर्लभ मानिएको छ, जहाँ कुनै पनि स्थानबाट ध्वनि संकेतमार्फत कागलाई आकर्षित गर्न सक्नु उहाँको विशेष पहिचान बनेको छ। यसअघि पनि उहाँले विभिन्न मञ्चहरूमा आफ्नो कला प्रस्तुत गर्दै दर्शकलाई चकित पार्दै आउनुभएको थियो।
रमेश बुढाथोकी नेपालका प्रतिभाशाली कलाकार हुनुहुन्छ। उहाँ चलचित्र तथा टेलिसिरियल अभिनयमा सक्रिय रहँदै आउनुभएको छ। साथै, उहाँ डिजिटल कन्टेन्ट निर्माणमा समेत लोकप्रिय हुनुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा उहाँका १० लाखभन्दा बढी फलोअर्स छन्।
बुढाथोकी कलाकार मात्र नभई सामाजिक सेवामा पनि सक्रिय हुनुहुन्छ। कला र सामाजिक कार्यहरूमा निरन्तर सक्रिय उहाँको काग बोलाउने कलाले आज उहाँलाई अन्तर्राष्ट्रिय स्तरमै चिनाएको छ।
यस उपलब्धिसँगै इलाम मात्र नभई सिंगो नेपालकै नाम अन्तर्राष्ट्रिय मञ्चमा थप उचाइमा पुगेको छ।


