बिर्तामोड, १९ वैशाख । झापाको बिर्तामोडमा 'पत्रकारिताको चुनौती र अबको बाटो' विषयक अन्तरक्रियात्मक कार्यक्रम शनिबार सम्पन्न भएको छ।
प्राइड मिडिया प्रालिद्वारा सञ्चालित नयाँ पेपर डटकमको आयोजनामा आयोजित उक्त कार्यक्रममा पत्रकारिता क्षेत्रले वर्तमान समयमा सामना गरिरहेका संकट र आगामी कार्यदिशाबारे गहन छलफल गरिएको थियो। सोही अवसरमा नयाँ पेपरको टेवल क्यालेण्डर समेत सार्वजनिक गरिएको थियो।
प्रालिका अध्यक्ष निर्मलराज खत्रीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, झापा शाखा अध्यक्ष एकराज गिरी, प्रेस काउन्सिलका पूर्व सदस्य गणेश पोखरेल, पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडा, र बिर्तामोड साना शहरी खानेपानीका अध्यक्ष मेघराज बास्तोलाले शुभकामना मन्तव्य राख्नुभएको थियो।
यसैगरी प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का र नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्य लगायतले मन्तव्य राख्दै पछिल्लो समय सरकारले निजी मिडियालाई विज्ञापन उपलब्ध गराउन रोक लगाएकोमा कडा आपत्ति जनाउनुभयो।
सहभागी वक्ताहरूले सरकारको यस्तो कदमले सञ्चार क्षेत्रलाई धराशायी बनाउने भन्दै उक्त निर्णय तत्काल फिर्ता लिन माग गर्नुभयो। साथै, झापाका सबै स्थानीय तहले स्थानीय सञ्चार माध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी सूचना र विज्ञापनलाई प्राथमिकताका साथ उपलब्ध गराउनुपर्नेमा उहाँहरूको विशेष जोड थियो।
नयाँ पेपरकी सह–सम्पादक सुनिरा मैनालीले स्वागत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन प्रधान सम्पादक रमेश तिवारीले गर्नुभएको थियो।


