बिर्तामोड,२६ वैशाखः प्रविधिको सही सदुपयोग गर्दै आफ्नो आम्दानीलाई कसरी सुरक्षित र व्यवस्थित बनाउने भन्ने विषयमा बिर्मातामोडमा एकदिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
नेपाल उद्यमशील महिला संघ र इन्जिनियर्स विदाउट बोर्डर्स नेपाल (Engineers Without Borders Nepal) को संयुक्त आयोजना तथा कृषि विकास बैंकको आर्थिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता बिमलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा झापा चेम्बर अफ कमर्सका अध्यक्ष ओम बिमली प्रमुख अतिथि हुनुभएको थियो। नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्यले मन्तव्य राख्दै महिलाहरूलाई प्रविधि मैत्री बनाउन यस्ता कार्यक्रमले ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागीहरूलाई बचत, बीमा, डिजिटल भुक्तानी, डिजिटल स्क्याम र लगानीका विविध आयामहरूबारे विस्तृत जानकारी दिइएको थियो।
उक्त कार्यक्रमको सहजीकरण स्कन्दा रिजाल, विजिता पराजुलीले गर्नुभएको थियो। कार्यक्रमको सुरुमा संस्थाकी उपाध्यक्ष यशोदा प्रसाईंले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव विना थपलिया घिमिरेले गर्नुभएको थियो।
कार्यक्रममा स्थानीय महिला उद्यमीहरूको बाक्लो उपस्थिति रहेको थियो।


