झापा, २७ वैशाखः झापाको बिर्तामोडस्थित मुख्य चोकमा रहेको ऐतिहासिक ‘मुक्तिचोक’को शालिक भत्काउन सुरु गरिएको छ।
एसियन हाइवे (एसियाली राजमार्ग) निर्माण प्रक्रियालाई अगाडि बढाउने क्रममा सडक विस्तारका लागि बिहीबार रातिदेखि सो शालिक हटाउन थालिएको हो।
उक्त शालिक बिर्तामोडको एक प्रमुख पहिचान र ऐतिहासिक महत्त्वको प्रतीकका रूपमा रहँदै आएको थियो।
२०६२–०६३ को दोस्रो जनआन्दोलन सफल भएपछि राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको आगमनको खुसीयालीमा यसलाई ‘मुक्ति’ को प्रतीक स्वरूप स्थापना गरिएको थियो।
तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति स्व. गिरिजाप्रसाद कोइरालाले यस सहिद स्तम्भको अनावरण गर्नुभएको थियो। लामो समयदेखि यो चोक झापाकै व्यस्त र मुख्य केन्द्रका रूपमा परिचित रहँदै आएको छ।
एसियन हाइवे लौकही-काँकडभिट्टा पूर्वी खण्डका आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार, सडक निर्माणमा अवरोध पुग्ने भएकाले प्राविधिक आवश्यकताका कारण शालिक स्थानान्तरण गर्नुपरेको हो।
चोकबाट हटाइएको सो शालिकलाई तत्कालका लागि बिर्तामोड नगरपालिकाको कार्यालयमा लगेर सुरक्षित राखिने आयोजनाले जनाएको छ।
बिर्तामोडको सान र आन्दोलनको बिरासत बोकेको यो संरचना हटाइएपछि स्थानीयवासीले मिश्रित प्रतिक्रिया दिएका छन्।


